नेपालगञ्ज, १७ माघ ,, बाँकेको खजुरा धनौलीमा शहीद सेतु विक प्रवेशद्वार निर्माण गरिएको छ । शहीद सेतु विक स्मारक प्रवेशद्वार निर्माण उपभोक्ता समितिद्वारा निर्मित उक्त प्रवेशद्वारको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बुधबार उद्घाटन गर्नुभयो ।
खजुरा गाउँपालिकाको रु तीन लाख अनुदान र जनश्रमदानमा धनौली चौकीको पूर्वतर्फ शहीद सेतु विक मार्गमा उक्त प्रवेशद्वार निर्माण गरिएको हो । दोस्रो जनआन्दोलनका क्रममा खजुरा निवासी विकको विसं २०६३ वैशाख ५ गते नेपालगञ्जमा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।
नागरिकता र राहदानी वितरण
बाँके जिल्ला प्रशासन कार्यालयले चालू आर्थिक वर्षको पुस महीनासम्म नौ हजार ५०३ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । सो अवधिमा ६२९ ले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार वैवाहिक नागरिकता नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलालाई दिने गरिएको छ । सोही अवधिमा उक्त कार्यालयले चार हजारभन्दा बढी राहदानी वितरण गरेको छ ।
लागुऔषधिसहित दुई पक्राउ
ठूलो परिमाणको अवैध लागुऔषधसहित नेपालगञ्जमा दुई युवक पक्राउ परेका छन् । बाँकेको सीमापारि भारतीय बजार रुपैडिहाबाट नेपालगञ्ज आउँदै गरेका नेपालगञ्ज–९ बस्ने आशिष हास्मी र वडा नं १० निवासी गुरुप्रसादलाई प्रहरीले बुधबार राति लागुऔषधसहत पक्राउ गरेको हो ।
सीमा प्रहरी चौकी जयसपुरका प्रहरी नायब निरीक्षक इन्द्र बस्नेतको नेतृत्वको टोलीले हामीको साथबाट २७० ट्याब्लेट नाइट्रोभेट र ६५ ट्याब्लेट स्पासमो तथा गुरुप्रसादको साथबाट ९० ट्याब्लेट नाइट्रोभेट बरामद गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ ।
–––
तपाईंको प्रतिकृयाहरू