१० माघ २०८१

निःशुल्कमा उपचार गर्ने सहमति

११ माघ २०७५, शुक्रबार १३:५९ मा प्रकाशित

लहान, ११ माघ ९ ,, लहान, ११ माघ (रासस) ः असहाय गरीब बिरामीको निःशुल्क उपचारका लागि सिरहाको कर्जन्हा नगरपालिका र कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलबीच सहमति भएको छ ।

हस्पिटलका मेडिकल डाइरेक्टर डा शिवशङ्कर साहको अध्यक्षतामा बसेको बैठकमा लामो समयदेखि बन्द रहेको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार प्रसूति सेवा निःशुल्क गर्ने, शल्यक्रिया गरेर बच्चा निकाल्दा निःशुल्क गर्ने, साधारण प्रसूतिमा २४ घण्टा र बढी ग्रसित प्रसूतिमा ४८ घण्टा श्यया निःशुल्क गर्ने र गरीब, असहाय व्यक्तिका लागि सकेसम्म निःशुल्क उपचार गर्नेलगायतका विभिन्न विषयमा सहमति भएको छ ।

गरीब असहाय व्यक्तिलाई निःशुल्क उपचार गर्नका लागि नौ सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिमा नगरपालिकाका तर्फबाट पाँच जना र हस्पिटलबाट चार जना गरी गठित नौ सदस्यीय समितिले वास्तविक गरीब, दलित पहिचान गरी सहजरुपमा उपचारको व्यवस्था मिलाउने नगर प्रमुख पासवानले बताउनुभयो ।

छ महीनामा सात करोड राजस्व सङ्कलन

जिल्ला भन्सार कार्यालय माड्र सिरहाले चालू आर्थिक वर्ष २०७५÷७६ को छ महीनाको अवधिमा रु छ करोड ९९ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । यो गत आव २०७४÷७५ को सोही अवधिको तुलनामा झण्डै दोब्बर बढी राजस्व सङ्कलन भएको हो । सीमा क्षेत्रमा कडाइ गरिएपछि राजस्व सङ्कलनमा वृद्धि भएको जिल्ला भन्सार कार्यालय सिरहाका भन्सार अधिकृत सुमित गुप्ताले जानकारी दिनुभयो ।

चालू आव २०७५÷७६ को साउनदेखि पुससम्म छ महीनाको अवधिमा रु छ करोड ९९ लाख ६७ हजार राजस्व सङ्कलन गरेको हो । गत आव २०७४÷७५ साउनदेखि पुससम्म छ महीनामा रु तीन करोड ६८ लाख ९० हजार मात्र राजस्व सङ्कलन भएको थियो । आव २०७५÷७६ को छ महीनामा भन्सार कर्मचारी गस्तीबाट १२, सशस्त्र प्रहरी अन्य निकायबाट १४६ र नेपाल प्रहरी अन्य निकायबाट ३०८ गरी जम्मा ४६६ मुद्दा दर्ता भएको भन्सार अधिकृत गुप्ताले जानकारी दिनुभयो ।

–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter