काठमाडौँ, ४ माघ ,, उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिको आधारका रुपमा रहेको नेपालको ऊर्जा क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ । आजदेखि यहाँ शुरु भएको दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै उहाँले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानीको त्यत्ति धेरै समस्या नभए पनि नीतिगतरुपमा केही सुधार तथा समयानुकूल बनाउनुपर्नेमा जोड दिनुभयो ।
विगतमा अत्यास लाग्दो विद्युत्भार कटौतीको युग अन्त्य भएर नेपाल नयाँ उज्यालो युगमा प्रवेश गरेको भन्दै उहाँले ठूलोमात्रामा रहेको व्यापार घाटा अन्त्य गर्न पनि ऊर्जाको क्षेत्रमा केही न केही नयाँ गर्नैपर्ने अवस्था आइपुगिएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “उज्यालो नेपालको प्रक्रिया अगाडि बढेको भए पनि वर्षेनी भारतबाट विद्युत् आयातको मात्रा बढ्दा त्यसले व्यापार घाटा बढाउँदै गएको छ । त्यसलाई नियन्त्रण गर्न पनि ऊर्जा क्षेत्रमा लगानी बढाउनु जरुरी छ । पेट्रोलियम पदार्थको आयात कम गर्ने उपाय पनि जलविद्युत् क्षेत्रको विकास नै हो । त्यसतर्फ लाग्नैपर्छ ।”
ऊर्जा क्षेत्रको विकास र विस्तारबाट मात्रै औद्योगिकीकरण सम्भव भएको भन्दै उहाँले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको विस्थापन गर्न पनि विद्युत् नै उपयुक्त साधन भएको बताउनुभयो ।
उहाँले अब हरेक घरमा विद्युतीय उपकरणबाट खाना पकाउने प्रणाली जडानमा जोड दिनुपर्ने र विद्युतीय सवारी साधनको प्रवद्र्धनमा लाग्नुपर्ने र सरकारले आफ्ना नीति तथा कार्यक्रम पनि त्यसतर्फ केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले विकास निर्माणको काममा बढीभन्दा बढी प्रविधिको प्रयोग गर्नुपर्ने र सहजरुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “सहजै काम हुने र काम गर्ने वातावरण बनाउनु जरुरी छ । क्रमशः त्यस दिशामा सरकार र निजी क्षेत्र पनि केन्द्रित भइरहेको छ । थप बढावा दिनु जरुरी रहेको छ ।”
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै देशको ऊर्जा क्षेत्रमा ठूलो समृद्धि आउने बताउनुभयो । उहाँले निजी क्षेत्रमैत्री नियम तथा कानूनको व्यवस्था गर्न र त्यसको व्यावहारिक कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउनका लागि पनि स्पष्ट कानूनी आधार र लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै उपराष्ट्रपति पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गर्नुभयो ।
एक्स्पोमा ८५ भन्दाबढी प्रदर्शकले १०० भन्दा बढी कक्ष बुकिङ गरेका छन् । जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको यो एक्स्पोमा एक लाख बढी अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ ।
चीन, भारत, अष्ट्रिया, दक्षिण कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया, बङ्गलादेश तथा बेलायतलगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनी एक्स्पोमा सहभागी भएका छन् । यस्तै जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीको सहभागिता छ ।
आधुनिक सौर्य प्रणाली, विद्युतीय सवारीसाधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, आकर्षणका रुपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिनुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू