०४ माघ २०८१

जन्ते ढुङ्गाः घरबास र पदयात्रा पर्यटनसँग जोडिँदै

वासुदेव पौडेल 

३ माघ २०७५, बिहीबार १६:२२ मा प्रकाशित

पोखरा, ३ माघ (रासस) ,,  प्रकृतिलाई पर्यटनसँग जोड्दै आर्थिक समृद्धिका लागि पहल भइरहेका अवस्थामा शुक्ला गण्डकी नगरपालिका–११ राइपुरस्थित प्राचीन महत्वको जन्ते ढुङ्गालाई घरबास र पर्यटनसँग जोड्ने पहल थालिएको छ ।

परापूर्वकालमा बेहुली लिएर आएका दुई समूहका जन्ती भेट हुनासाथ उनीहरू त्यही ठाउँमा एकाएक हराएको जनविश्वासका आधारमा उक्त स्थानलाई जन्ते ढुङ्गा भन्ने गरिएको हो ।

उक्त स्थानमा नेपाली समाजमा विशेष गरी विवाहमा बजाइने नौमती बाजाका आकृति कुदिएका ढुङ्गालाई स्थानीयले बाजाका नमूनाका रूपमा लिने गरेको स्थानीयवासी अग्निधर शर्माले जानकारी दिनुभयो ।

नेपाली समाजमा परम्परागत नौवटा बाजाको सामूहिक बाजालाई नौमती बाजा भनिन्छ । पञ्चे बाजाको विस्तृत रूपमा समेत लिइने नौमतीमा पञ्चे बाजाका अतिरिक्त चार वटा अन्य बाजा थपिएको हुन्छ । यसअन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सनही, कर्नाल, नरसिङ्गा बाजा हुन् जसमा सनही र दमाहाका दुईदुई वटा सेट हुन्छ ।

जन्ते ढुङ्गा पुग्ने पर्यटकले छरपस्ट छरिएका ढुङ्गामा विवाहका क्रममा बजाइने तिनै दमाहा, झ्याली, ट्याम्को, ढोलक, सनही, कर्नाल, नरसिङ्गा बाजाको सहजै अनुमान गर्दछन् । राइपुर गाउँबाट करीब १० मिनेटको हिँडाइ पछि जन्ते ढुङ्गा पुग्न सकिने स्थानीय समाजसेवी तारापति भट्टराईले बताउनुभयो । उहाँका अनुसार बाजाका आकृति कुँदिएका ढुङ्गामा बाजामा जस्तै विभिन्न आवाज आउने गर्छ ।

जन्ते ढुङ्गाको महत्व समेतका आधारमा यहाँस्थित जङ्गललाई जन्ते ढुङ्गा सामुदायिक वनका रूपमा स्थानीयले संरक्षणसमेत गर्दै आएका छन् । वन कूल ७० हेक्टर क्षेत्रफलमा फैलिएको जङ्गल फैलिएको छ । जन्ते ढुङ्गासहित यहाँको जङ्गल संरक्षणका लागि स्थानीय सन्तबहादुर दर्नाललाई कर्मचारीका रुपमा नियुक्त गरिएको छ । जङ्गलभित्रै स्थानीय सक्रियतामा बराहको मन्दिर निर्माण पनि शुरु भएको छ ।

राइपुरबाट धौलागिरि, अन्नपूर्णलगायतका उच्च हिमाली शृङ्खला एवं पहाडी दृश्य एक साथ अवलोकन गर्न सकिने बताउँदै भट्टराईले यहाँको प्राकृतिक दृश्यावलोकनसँग जन्ते ढुङ्गालाई सँगसँगै जोडेर अघि बढाइने बताउनुभयो ।

तनहुँको दुलेगौँडाबाट शुरु भई स्याङ्जाको रामबाछा जोडिने ७२ किमी दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) यही मार्ग भएर जाने भएकाले मिलेनियम ट्रेक व्यवस्थापन समितिले यस क्षेत्रमा घरबास कार्यक्रम सञ्चालनका लागि पहल गरेको समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो । स्थानीय सक्रियतासँगै यहाँका पाँच घरमा घरबास कार्यक्रम शुरु भइसकेको छ ।

रमणीय हिमाली दृश्यको अवलोकनका साथै यहाँ रहेको प्राचीन महत्वको जन्ते ढुङ्गा क्षेत्रलाई समेटेर पर्यटनको विकास गरिने लक्ष्य राखिएको छ । घरबास कार्यक्रमका साथै यहाँ प्रचलित भजन, चुड्कालगायतका स्थानीय सँस्कृतिलाई पनि सँगसँगै अघि बढाउने सोच राखिएको छ ।

मिलेनियम ट्रेकअन्तर्गत पदयात्रा मार्गमा पर्ने जन्ते ढुङ्गा, गुफा, दरबार आदिलाई जोड्दै तिनीहरूको पर्यटन बजारमा प्रचारप्रसार गर्नु आवश्यक रहेको महसचिव गुरुङको भनाइ छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter