विराटनगर, २ माघ ,, दह्रो घर, दिगो बस्ती’ प्रमुख नाराका साथ २१औँ राष्ट्रिय भूकम्प दिवस आज यहाँ विविध कार्यक्रमसहित मनाइयो । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आयोजित सो कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका सल्लाहकार सूर्यभक्त साँगाछे, सङ्घीय मामिला कार्यान्वयन एकाइका प्रमुख काशी गुप्ता र विराटनगर महानगरपालिकाका इञ्जिनीयर अर्जुन थापाले भूकम्पबाट जनधनको क्षतिलाई न्यूनीकरण गर्ने विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमा विगत ४६ वर्षदेखि विपद्बाट नेपालमा २५ हजार ८४९ जनाको ज्यान गएको र आठ लाख ३५ हजार घर ध्वस्त भएको जनाएको छ । विसं १९९० मा आएको विनाशकारी भूकम्पले धेरै जनधनको क्षति गरेको र २०७२ वैशाख १२ गते आएको ७ दशमलव ८ म्याग्नुचुडको भूकम्पमा नौ हजार मानिसको ज्यान गएको थियो भने २२ हजार मानिस धाइते भएका थिए । यस भूकम्पमा आठ लाख घर ध्वस्त भएको, पाँच हजार विद्यालयमा क्षति पुगेको र करीब १० अर्ब अमेरिकी डलर बराबरको धनसम्पत्ति क्षति भएको देखाएको छ ।
आगलागी, हावाहुरी, भूकम्प, बाढीपहिरो, चट्याङजस्ता विपद्बाट मानिसको ज्यान र सम्पत्ति नष्ट हुने भएकाले अब निर्माण गरिने भवन आचारसंहिता अनुसार बन्नुपर्ने प्राविधिकको भनाइ छ । सो अवसरमा निमित्त प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भूकम्प आफैँमा विनाशकारी नभएको र मानिसले बनाइएको कमजोर संरचनाबाट क्षति हुने भएकाले यसतर्फ सबैको ध्यान जानु जरुरी छ भन्नुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू