काठमाडौँ, २९ पुस ,, संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाका लागि सुडान जाने प्रहरी अधिकारीलाई प्रशिक्षण दिइएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा केन्द्रीय प्रहरी विशेष कार्यदल काठमाडौँमा सञ्चालित १६औँ समूहको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो । कात्तिक ७ गतेदेखि शुरु ४८ दिने तालीममा १९८ प्रहरी अधिकारी सहभागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शान्ति सेनामा जानेमा प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक प्रहरी हवल्दार, प्रहरी जवान र सहयोगी रहेका थिए । प्रशिक्षण समापनमा प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले संयुक्त राष्ट्रसङ्घको मान्यता, नीति नियमलाई पालना गर्दै अनुशासित भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो । जोशीले फरक वातावरण, द्वन्द्वग्रस्त एवं संवेदनशील स्थान भएकाले मिसनमा खटिने प्रहरी कर्मचारीले पूर्ण उत्तरदायी र समन्वय गरेर कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । प्रहरी उपरीक्षक मिरा चौधरीले प्रशिक्षार्थीकोतर्फबाट मिसनमा रहँदा गर्नुपर्ने काम, कर्तव्य एवं जिम्मेवारीका विषयमा जानकारी प्राप्त भएको उल्लेख गर्दै जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
तालीम संयोजक प्रहरी नायब उपरीक्षक मेखबहादुर कुँवरले तालीमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम काठमाडौँको वसन्तपुर, तारकेश्वर नगरपालिका र नागर्जुन नगरपालिकामा सम्पन्न गरिएको प्रहरी प्रधान कार्यालयले आज जानकारी दिएको छ । –––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू