ललितपुर, २९ पुस ,, महानगरीय प्रहरी परिसर ललितपुरले फूलचोकीमा घुम्न जाँदा बेपत्ता भएका १६ किशोरकिशोरी फेला पारेर अभिभावकलाई बुझाएको छ ।
बेपत्ता हुनेमा १२ किशोर र चार किशोरी थिए । शनिबार समूहमा घुम्न गएका उनीहरु जङ्गलमा हराएको परिसरले जनाएको हो । अपराह्न ४ः३० बजे उनीहरु हराएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी शुरु गरेको परिसरका प्रवक्ता शेखर खनालले बताउनुभयो । परिसरले मातहतमा वृत्त र प्रभागमा कार्यरत प्रहरी कर्मचारीसहित सात टोली फूलचोकी जङ्गलमा खटिएको थियो । किशोर किशोरी गोदावरी बसपार्कबाट १० किलोमिटर परको जङ्गलको मध्य भागमा पर्ने खोँचमा फेला परेको प्रहरीले जनाएको छ । किशोर किशोरी आठ÷आठ जनाको समूहमा घुम्न गएका थिए । बाटो बिराएर दिनभर भौँतारिँदा उनीहरु भोक र तिर्खाएको अवस्थामा फेला परे । उहाँले भन्नुभयो, “हामीले राति नै अभिभावकको साथमा फर्काएका छौँ ।”
वर्षेनी धेरै किशोर किशोरी तथा युवा जाडोको मौसममा हिउँसँग खेल्न भन्दै फूलचोकी जाने गरेका छन् । प्रहरीले निषेध गरेका क्षेत्रमा समेत पुग्दा जङ्गलमा बेपत्ता हुने घटना वर्षेनी हुने गरेको छ । अघिल्लो वर्ष विद्यालयबाटै घुम्न गएका जोन तामाङ जङ्गलमा एक सातापछि मात्रै भेटिएका थिए ।
–––
तपाईंको प्रतिकृयाहरू