विदुर, २९ पुस ,, समयानुकूल र वैज्ञानिक शिक्षाबाट समृद्ध समाज निर्माण गर्न राज्यले चाहे सम्भव रहेको सरोकार पक्षले बताउनुभएको छ ।
सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन शिक्षण पद्धतिमा परिमार्जन हुनुपर्ने धारणा व्यक्त गर्दै अभिभावक, विद्यार्थीलगायत शैक्षिक क्षेत्रका व्यक्तिले शिक्षाको व्यापारलाई रोकेर यसलाई नैसर्गिक अधिकारका रुपमा र निःशुल्क बनाउनुपर्ने मागसमेत गर्नुभयो ।
जिल्लाको एउटा पुरानो शैक्षिक संस्था विदुर नगरपालिका–५ माझीटारस्थित च्वाडी पब्लिक माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सवका अवसरमा सहभागीले विद्यालयको समग्र सुधारका लागि व्यवस्थापकीय पक्ष सुदृढ हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाउन शिक्षण पद्धतिलाई परिष्कृत र परिमार्जित गरिनु अत्यावश्यक रहेको बताउनुभयो । प्रजिअ उद्धवबहादुर थापा, विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहाल, विदुर– ३ का वडाध्यक्ष बद्री रिमाल र वडा नं ५ का वडाध्यक्ष शिवकुमार चित्रकार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठ सदस्य बुद्धिबहादुर प्रधान, प्रअ टीकाराम खरेल, राप्रपाका रामकृष्ण भट्ट, पूर्वशिक्षक रामप्रसाद जोशी, पूर्वविद्यार्थी साथी समाजका उपाध्यक्ष शिव देवकोटालगायतले विद्यालयले भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति हासिल गरिसकेका अवस्थामा अब शैक्षिक विकासका नयाँ आयाममा ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
सो अवसरमा विद्यालयका पूर्वविद्यार्थी तथा सञ्चारकर्मी शिव देवकोटालाई गरिएको थियो । त्यस्तै नेपाल पत्रकार महासङ्घ नुवाकोटका निवर्तमान अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समिति सदस्य प्रकाशकुमार अधिकारीले आफ्ना स्व पिता रामबहादुरका सम्झनामा स्थापना गरेको जेहेन्दार छात्रवृत्तिसमेत वितरण गरिएको थियो ।
गाउँमै पुगेर नागरिकता
सरकारी सेवा स्थानीयस्तरमै नागरिकलाई दिने उद्देश्यले जिल्लाको पूर्वी क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गरेको छ । शुक्रबार र शनिबार शिवपुरी गाउँपालिकाको केन्द्र सेराबगरमा सञ्चालित एकीकृत घुम्ती शिविरमा शुक्रबार १३७ र शनिबार ३७२ जनालाई नागरिकता वितरण गरिनाका साथै अन्य सरकारी सेवा दिइएको थियो ।
सो अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले व्यवसाय दर्ता तथा इजाजत पत्र वितरण गरिनाका साथै जिल्ला स्वास्थ्य कार्यालय र शिवपुरी गाउँपालिकाको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
त्यस्तै नेपाल विद्युत् प्राधिकरणले नयाँ मिटर वितरण र विद्युत् महसुल सङ्कलन गरेको थियो । शिविरमा जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले विद्यमान ऐन कानूनको कार्यान्वयन र अपराध रोकथामका सम्बन्धमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको प्रजिअ थापाले जानकारी दिनुभयो । शिविरमा जिल्ला निर्वाचन कार्यालयले तस्वीरसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरेको थियो भने कोष तथा लेखा नियन्त्रण र डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र, पशु अस्पताल र जिल्ला हुलाक कार्यालयले आआफ्नो कार्यालयसम्बद्ध सेवा दिएका थिए ।
––––
तपाईंको प्रतिकृयाहरू