बर्दिवास, २९ पुस ,, मिथिला क्षेत्रमा तिलासक्रायत भनिने माघे सङ्क्रान्ति पर्वले मिथिलानी (मिथिलाका नारी, गृहिणी) लाई कामको चटारोले छोपेको छ ।
पर्वका लागि तिल, चिउरा र मुरीकालाई (लड्डु) बनाउने तयारीमा रहेका मिथिलानीलाई अहिले तिल छाट्ने, माड्ने र सुकाएर भुट्ने चटारोले छोपेको हो ।
“मुरी र चिउरा त मिठ्ठा (सख्खर)को पाक (सख्खरलाई पानीमा फत्काएर लिसाइलो बनाइएको) मा मिसाएर मुछेपछि डल्ला बनाए भइ हाल्यो” पर्वको चटारोले अरु काम हेर्न नभ्याएको बताउने महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी गृहिणी शैल महतो भन्नुहुन्छ, “यो तिल चाहिँ झण्झटिलो छ । फल्नु, पानीमा भिजाएर छाट्नु, माड्नु अनि बल्ल भुटेर बनाउनु ।”
माघे सङ्क्रान्तिका दिन सूर्योदयसँगै इष्टदेवलाई चढाएर खाने, ख्वाउने प्रचलन भएकाले यहाँ केही दिन पहिलेदेखि नै बनाउने चटारो पर्ने गरेको मिथिलानी बताउँछन् ।
पर्वको तयारीमा महोत्तरीका सबै गाउँ÷नगर बस्तीमा अहिले जहाँ गए पनि मिठ्ठा, चिउरा, मुरी र तिलको बजार जमेको देखिन्छ । पर्वमा आफ्नो घरमा मात्र नभएर छोरीचेली, मित र इष्टजनका घरमा पनि पर्व विशेषको ‘सनेस’ (कोसेली) पठाउने चलनले माघभरि नै बनाउने व्यस्तता रहने गरेको मिथिला परम्पराका जानकार बर्दिवास–२ का कर्मकाण्डी पुरोहित महेशकुमार झा बताउनुहुन्छ ।
पर्वमा यहाँका मूल बासिन्दा थारु, दनुवार, मुसहर र बाँतर भने मासुको परिकार र अन्य जाति समुदाय तिल, चिउरा र मुरीकालाई बनाउने गर्दछन् ।
मिथिलामा पर्वका दिन बिहान घ्यू, मुँगको दाल र मसिनो चामलको खिचडी पकाएर खाने गरिन्छ भने चिउरा र मुरी चाहिँ माघ महिनैभरि खाजा खाने गरिन्छ । पुसको ठिहिरोले कठ्याङ्ग्रिएको शरीर तताउन सख्खर, मख्खन, घ्यू र तिलका परिकार खाने कुरामा जोड दिइएको बुढापाका बताउँछन् ।
पर्वका दिन चिउरा, तरयुक्त दही पाहुनालाई ख्वाउने मिथिलाको खास परिकार मानिन्छ । महिनैपिच्छे खासखास पर्व मनाइने मिथिलामा माघेसङ्क्रान्ति पर्वमा खाने, ख्वाउनेबाहेक अन्य खासै धार्मिक विधि हुँदैनन् ।
बिहान सूर्योदयपूर्व नुहाएर तिल होमेर तिलकै झिक्रा बालेर आगो तापेसँगै पर्वको धार्मिक र सांस्कृतिक विधि सम्पन्न हुने परम्परा छ । यद्यपि मैथिल कर्मकाण्डका ज्ञाता झा भने मकर सङ्क्रान्तिमा एकाबिहानै धार्मिक महत्वका नदी वा तालमा मकरस्नान, तिलको झिक्रा बाल्ने, तिल होम्ने, तिलकै कालो टीका लगाउने र तिल दान गर्ने धार्मिक विधि रहेको बताउनुहुन्छ ।
पर्व विशेषको महत्वले अहिले महोत्तरीका गाउँ÷नगर बस्तीका बजारमा तिल, चिउरा, मुरी, सख्खर र मख्खनको बजार जमेको छ । त्यसैगरी पहाडी र मधेशी संस्कृतिको घुलमिलले यस पर्वमा मधेशीले पहाडीको सिको गरेर तरुल, सुठुनी र चाकु खान सिकेका छन् भने पहाडीले मधेशीबाट बनाउने र खाने संस्कृति सिकेका छन् ।
यसले बजारमा तरुल, सुठुनी र पिडालुसहितका फल पनि बाक्लै किनबेच हुने गरेको छ ।
–––
तपाईंको प्रतिकृयाहरू