म्याग्दी, २९ पुस ,, रघुगङ्गा गाउँपालिका वडा नं ४ र ५ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण शुरु गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले सो पुल निर्माण शुरु गरेको हो । कम्पनीद्वारा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने सडकमा बनाउन लागिएको उक्त पुलबाट झिँ, पाखापानी, ठाडाखानी र कुइनेखानीका बासिन्दालाई पनि सुविधा पुग्ने जनाइएको छ । यसै वर्षभित्र ४० मिटर लामो ट्रस प्रविधिको पुल बनाउने लक्ष्यसहित काम शुरु गरिएको कम्पनीले जनाएको छ ।
पुल बनेपछि उक्त गाउँका बासिन्दाले घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता हट्ने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । गाउँपालिकाले बाँध निर्माणस्थलदेखि पाखापानीको औल जोड्ने सडक बनाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
रघुगङ्गा–३ घुमाउने तालदेखि वडा नं. ४ को बुक्ल हँुदै दग्नाम र झिँको सिमानामा निर्माण हुन लागेको बाँधसम्म ११ किमी सडकको मार्ग निर्माण गरिएको छ । गत असारमा मौवाफाँटदेखि नयाँ मार्ग खन्न शुरु गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्सले बाँधस्थलसम्म सडक पु¥याएको हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिनुभयो ।
सडक बनेपछि आयोजनाको निर्माण सामग्री ढुवानी, मजदूर, कर्मचारी र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । पहुँचमार्ग, आवास व्यवस्थापन, निर्माण सामग्री र उपकरण जुटाइसकेको ठेकेदार कम्पनीले आगामी माघको तेस्रो सातादेखि सुरुङ निर्माण शुरु गर्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानी रहेको सो जलविद्युत् आयोजनाको सिभिल ठेकेदारले बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको छ । एक्जिम बैंकको चार करोड ४० लाख डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणानुसार निर्माण हुन लागेको हो ।
–––
तपाईंको प्रतिकृयाहरू