सबैठवा, १७ पुस,, युवा जागरुक भए समाजका वृद्घवृद्घा मात्र होइन, पछि परेका वर्गका मानिसले सरकारबाट पाउने सेवा सुविधा कसरी सजिलै पाउँछन् भन्ने उदाहरण बनेको छ–वीरगञ्ज उपमहानगरपालिका–२३ स्थित गाउँ सबैठवा ।
वीरगञ्ज उपमहानगरपालिकाको यस वडामा कार्यरत युवाको स्वयंसेवी समूह, समाज विकास समन्वय समिति, पर्साका स्वयंसेवक स्थानीय युवाको प्रयासले यो सम्भव भएको हो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा उपमहानगरपालिकाको यस वडामा युवालाई स्वयंसेवाप्रति उत्प्रेरित गरिएपछि यहाँका वृद्घवृद्घाले पाउन नसकेको वा झन्झट बेहोर्नु परेको सामाजिक सुरक्षा भत्ता लिने काम मात्र होइन, दलितले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ताको रकम र प्रदेशको ‘बेटी पढाऊ’ अभियानअन्तर्गतको रकमसमेत स्थानीय जनताले सजिलै पाउन थालेका छन् ।
पहिले पहिले यहाँका जनता उमेर पुगेपछि पनि वृद्घभत्ता लिन नजान्ने, प्रक्रिया नबुझ्ने, कागजात जुटाउन नसक्ने र बैंक खाता खोल्न नजान्ने वा नसक्ने थिए भने स्थानीय युवाको स्वयंसेवक समूहको प्रयास पछि भने ती सेवाग्राहीले सजिलै सामाजिक सुरक्षा भत्ता र अन्य सेवा लिन पाएका छन् । स्वयंसेवकको यो सक्रियताले यहाँका पिछडिएका समुदायले अन्य जिल्ला या पर्साकै पनि अन्य ठाउँको तुलनामा सेवा सुविधा छिटो छरितो गरी पाउन थालेका छन् ।
समाज विकास समन्वय समिति, वीरगञ्जका श्रोत व्यक्ति जयनारायण चौधरी भन्नुहुन्छ, वडा कार्यालयमा पर्याप्त कर्मचारी पनि नभएको र वृद्घवृद्घा अशिक्षित भएकाले सहयोग गरिदिनुप¥यो भनेर वडाले भनेपछि हामीले सेवाग्राहीलाई वृद्घवृद्घालाई बैंक खाता खोल्न तथा दलितलाई पोषण भत्ता दिलाउने लगायतका काममा सहयोग गरिरहेका छौँ ।
पर्साका विभिन्न गाउँपालिका तथा वीरगञ्ज उपमहानगरपालिका–२३ मा वञ्चितीकरणमा परेका जनताले सरकारबाट प्राप्त सेवा सुविधा सजिलै लिन पाएका छन् । हाम्रा स्वयंसेवकले सेवाग्राहीलाई बैंक खाता खोल्न, फारम भर्न तथा कागजात जुटाउन सहयोग पु¥याउँछन् । हामीले वडा र उपमहानगरपालिकाबीच पनि समन्वय गरिरहेका छौँ ।
यस्तो कार्यमा सहयोग पु¥याइरहनु भएका स्वयंसेवक लालबाबु कुशवाहा भन्नुहुन्छ, ‘‘वडाका सचिव अत्यन्त व्यस्त हुनाले २०७३ देखि नै सामाजिक सुरक्षा भत्ताको नवीकरण गर्न ६०० जना र खाता खोल्न १२८ जना बाँकी भएकोमा हाल ६० जनाको खाता खुलिसकेको र अन्यको बाँकी छ ।’’ “कतिपयका बच्चा जन्मेर तीन÷चार वर्षका भइसक्दा पनि जन्म दर्ता नहुँदा पोषण भत्ता लिन सकेका छैनन् । प्रदेश सरकारले दिने ‘बेटी पढाऊ’ अभियानको शिक्षा बीमा पनि लिन सकेका छैनन् । उनीहरुलाई हामी सहयोग गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “समन्वय समितिले स्वयंसेवकलाई केवल खाजाको मात्र व्यवस्था गरेको छ । हामी सबै आत्मसन्तुष्टिका लागि काम गरिरहेका छौँ । दुई विवाह भएको परिवारकी जेठी श्रीमतीले उमेर पुगिसक्दा पनि वृद्घभत्ता नपाएकामा हामीले नागरिकता बनाउन श्रीमानसँग पहल गरी वृद्घभत्ता पाउने व्यवस्था मिलायौँ । यसरी असहायले सेवा पाइरहेका छन् । हामीले जनचेतना फैलाएपछि अरुहरु पनि आफैँ आउन थाले ।”
पैसट्ठी वर्ष पुगेका दलितलाई पनि सामाजिक सुरक्षा भत्ता लिन सघायौँ भन्दै उहाँले पर्सामा यस्ता २३ जना स्वयम्सेवकले वडा कार्यालयलाई सघाएर जनतालाई सेवा पु¥याइरहेको पनि जानकारी दिनुभयो ।
वडा नं २३ का वडासचिव सूर्यकला यादव भन्नुहुन्छ, वडामा कर्मचारी अभाव छ, कर्मचारी भए पनि अधिकार हुँदैन, अनि कर्मचारीले पनि जिम्मेवारी लिन चाहँदैन, सही तरिकाले काम पनि गर्दैन, त्यसैले जनतामा सेवा पुग्न सकेको थिएन । उहाँ भन्नुहुन्छ, ‘‘दलित बालबालिकाले दुई वर्ष पुगिसक्दा पनि पोषण भत्ता पाएको हुँदैनथ्यो । कर्मचारीले आफ्नो कामप्रति जिम्मेवारी लिउँ र सही काम गरौँ, यसको राम्रै प्रभाव पर्छ ।’’ यहाँका स्वयंसेवकले निःस्वार्थरुपले सहयोग गर्छन्, हामी पनि समयमा उपस्थित भएर काम गर्छौं, यस्तो सेवा अन्यत्र पनि आवश्यक छ, उहाँले बताउनुभयो ।
युएनडिपीका प्रदेश २ संयोजक अर्जुन कुमारले वीरगञ्जको वडा नं २३ सबैठवा ग्रामीण क्षेत्र भएको र त्यहाँ धेरै समस्या भएकाले युवालाई सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमअन्तर्गत स्वयंसेवामा उत्प्रेरित गरी एक दिनको सामान्य तालीम दिएर सञ्जाल गठन गर्न सघाइएको र उनीहरु आफैँ उत्साहजनक रुपमा काम गर्दा स्थानीय जनतालाई सहयोग पु¥याइरहेको बताउनुभयो ।
उनीहरुलाई जनप्रतिनिधिको अनुरोधमा सामान्य तालीम तथा अनुभव आदानप्रदानमा सहयोग र खाजाबाहेक अन्य सुविधा नदिए पनि सेवा भावनाले काम गर्नाले राम्रो प्रभाव परिरहेको उहाँले जानकारी दिनुभयो ।
अनुगमन क्रममा महिला स्वयंसेविकाले बैंक खाता खोल्न फारम भर्न सघाइरहेका थिए भने स्थानीय वृद्घ महिलाले स्वयंसेवीबाट सहयोग पाउनाले सजिलो भएको बताएका थिए । (तस्वीर उपलब्ध छ)
–––
तपाईंको प्रतिकृयाहरू