सोलुखुम्बु, १६ पुस,, कुलुङ जातिको महान् चाड चाक्चाकुर आइतबारदेखि शुरु भएको छ । यो पर्व प्रत्येक वर्षको पुस १५ देखि शुरु हुन्छ । कुलुङ समुदायले पुस १५ देखि ३ दिनसम्म यो पर्वलाई भव्यरुपमा मनाउने गर्छन् ।
चाक्चाकुरमा सबै गाउँभरिका मानिस भेला भएर नाचगान, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न किसिमका खेल खेलेर रमाइलो गर्दै मनाउने गरिएको गुदेल माविकी महिला शिक्षक तारा कुलुङको भनाइ छ । उहाँका अनुसार संस्कार संस्कृतिको जगेर्ना गर्दै पर्वलाई निरन्तरता दिने गरिएको छ ।
कुलुङ समुदायमा यसको महत्व अति विशिष्ट रहेको कुलुङ अगुवाको भनाइ छ । कुुलुङ जातिले पुस १५ लाई नयाँ वर्ष, पुस १६ लाई नयाँ अन्न खाने दिन र पुस १७ लाई कुलुङ सङ्घको स्थापनाका रुपमा चिनारी दाचाम्री चाक्चाकुर भनेर मनाइने महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीको भनाइ छ ।
उहाँका अनुसार कुलुङ भाषामा मीनाको अर्थ ‘मान्छे’ र मिनारीको अर्थ ‘मान्छेको पाखुरी’ हुन्छ । दाचाम्को अर्थ ‘भण्डार वा ढुकुटी’ हो भने निङ्दोङले ‘नयाँ वर्ष’ र चाक्चाकुरले ‘चासुम् अर्थात अन्नको सह’ तथा पुस महीनालाई जनाउँछ । मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँ वर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नयाँ यामको प्रारम्भमा पुज्नु नै मिनारी दाचाम निङदोङ चाक्चाकुर हो ।
औपचारिकरुपमा देशभर चाक्चाकुर पर्वलाई मनाउने शुरुआत नेपाल किराँत कुलुङ भाषामा संस्कृति उत्थान सङ्घ, केन्द्रीय कार्यसमितिको पहलमा २०६२ बाट थालिएको कुलुङ सङ्घले दाबी गर्दै आएको छ । कुलुङ जातिको बसोबास भएका जिल्ला सोलुखुम्बु, भोजपुर, सङ्खुवासभा, इलाम, धनकुटालगायतका जिल्लामा मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाइन्छ । त्यस्तै भारतको सिक्किम, पश्चिम बङ्गाललगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ ।
कुलुङजातिको महान् चाडका रुपमा लिइने चाक्चाकुरको अवसरमा महाकुलुङ गाउँमा विभिन्न प्रतियोगिताको आयोजना गरिएको छ । वडा कार्यालय नै आयोजक बनेरसमेत कार्यक्रमको आयोजना गरिएको छ ।
वडा नं ३ छेस्कामको आयोजना फुटबल प्रतियोगितालगायतको कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष डेकबहादुर कुलुङले जानकारी दिनुभयो । कार्यक्रमको शनिबार सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य हेमकुमार राई (शुरवीरले) उद्घाटन गर्नुभएको थियो । महाकलुङको वडा नं २ ले साविक वडास्तरीय खुला महिला पुरुष भलिबल प्रतियोगिता, गायन, नृत्य, टेबलटेनिस प्रतियोगिताको साथमा भाग्यशाली उपहारसमेत आयोजना गरिएको छ ।
कार्यक्षेत्रमा रहेका कुलुङ जाति पर्व मनाउन गाउँ आउने गर्छन् । कुलुङ जातिको महान् पर्व मिनारी दाचाम निङदोङ चाक्चाकुरलाई राज्यले पनि विशेष महत्वको चाडका रुपमा मान्यता दिनुपर्ने कुलुङ जातिको भनाइ छ ।
महाकुलुङमा कुलुङ जातिको बाहुल्यता रहेको छ । स्थानीय खरिधन कुलुङले अन्य जातिको जस्तै कुलुङको समेत महत्वपूर्ण पर्व चाक्चाकुर भएकाले राज्यबाट राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताउनुभयो । “हिन्दूको दशैँ, तिहार जस्तै आफूहरुको चाक्चाकुर पर्व हो”, स्थानीय विनोद कुलुङले भन्नुभयो, “हाम्रो पर्वलाई पनि केन्द्र सरकारले नभए पनि प्रदेश सरकारले मान्यता दिन आवश्यक छ ।” कुलुङ जातिको बसोबास प्रदेश नं १ को सोलुखुम्बु, भोजपुर, सङ्खुवासभा, इलाम, धनकुटालगायतका क्षेत्र भएकाले प्रदेश सरकारले यस वर्षलाई मान्यता दिनुपर्ने उनीहरुको माग छ ।
चाक्चाकुरका अवसरमा गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कुुलुङ जातिको बाहुल्यता रहेको गाउँपालिकामा चाक्चाकुरको अवसरमा पुस १५, १६ र १७ गते स्थानीय बिदा दिइएको हो ।
गाउँपालिकाको छैटौँ गाउँसभाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका प्रमुख सागर किराँतीले जानकारी दिनुभयो । गाउँ कार्यपालिकाको निर्णयअनुसार गाउँपालिकाभित्रका सामुदायिक विद्यालय, सङ्घसंस्था तथा सकारी कार्यालय सबै बन्द छन् । १५ गते आइतबारदेखि बन्द भएको उक्त कार्यालय पुस १८ अर्थात् बुधबारदेखि मात्र खुल्नेछन् ।
चाक्चाकुर पर्व मनाउन कार्यक्षेत्रबाट गाउँ आएकाले बस्ती भरिभराउ भएको छ । विशेष गरी अध्ययन तथा रोजगारीको सिलसिलामा गाउँ बाहिर भएकासमेत छुट्टी मिलाएर घर आएका छन् । महाकुलुङका केडी कुलुङले भन्नुभयो, “अन्य पर्वभन्दा चाक्चाकुर महत्वपूर्ण पर्व हो, यो पर्वमा सबै गाउँका मानिसको जमघट हुन्छ ।” चाक्चाकुरका कारण महाकुलुङको घर भरिभराउ भएको छ । यातायातमा समेत महाकुलुङ जानेको लर्को देख्न सकिने यातायात व्यवसायी बताउँछन् ।
–––
तपाईंको प्रतिकृयाहरू