चितवन, १५ पुस,, चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालीम केन्द्रमा चार महीनामा चार छावा जन्मिएका छन् । गत वर्ष निकुञ्जका हात्तीले छावा जन्माएका थिएनन् । हात्तीको प्रजननलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ ।
खोरसोरस्थित उक्त केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार कर्णालीकलीबाट शनिबार चौथो भाले छावा छावा जन्मिएको हो । यसअघि असोज २३ गते पूजाकलीबाट पोथी छावा, कात्तिक १६ गते गणेशकलीबाट भाले छावा र मङ्सिर ३ गते तमरकलीबाट भाले छावा जन्मिाएका थिए । अझै चार गर्भिणी हात्तीले यसै वर्ष बच्चा जन्माउने चौधरीले जानकारी दिनुभयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पछिल्ला वर्षमा प्रजनन राम्रो रहेको बताउनुभयो । व्यवस्थापनमा सुधार, आहारमा सुधार, जङ्गली भालेको आगमन, स्वास्थ्योपचारको सुविधा, प्रजनन स्वास्थ्यमा सुधारलगायत कारणले प्रजनन राम्रो भएको उहाँले बताउनुभयो । छावा जन्मिएसँगै व्यवस्थापनको चुनौती पनि थपिएको उहाँको भनाइ थियो । प्रजनन् केन्द्रमा पोथी हात्ती बढेसँगै जङ्गली भाले हात्ती आउने क्रम बढ्छ । अधिकांश छावा जङ्गली भाले हात्तीको प्रजननबाट जन्मिएका हुन् ।
हाल निकुञ्जमा ५७ हात्ती छन् । गर्भिणी भएपछि २२ देखि २४ महीनामा हात्तीले बच्चा जन्माउँछ । कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका पाँच हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा छन् । निकुञ्जको हात्ती प्रजनन एवं तालीम केन्द्र, सौराहा र कसराको हात्तीसार एवं पोष्टमा हात्ती राखिँदै आइएको छ । विसं २०४२ मा भारत सरकारले दिएको १६ वटा हात्ती ल्याएर शुरु गरिएको प्रजनन केन्द्रमा हालसम्म २८ वटा हात्तीका बच्चा जन्मिसकेका छन् ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू