काठमाडौँ, १४ पुस,, नेपाल रेडक्रस सोसाइटीले रामेछाप जिल्लाको रामपुर नगरपालिका–५ र मन्थली नगरपालिका–१ का अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सामग्री वितरण गरेको छ । सोसाइटीका महामन्त्री रेवरत्न धाख्वाले ती स्थानका २९ अपाङ्गता भएका व्यक्तिलाई १४ प्रकारका ५२ थान सहायता सामग्री छुट्टाछुट्टै स्थानमा शुक्रबार आयोजित कार्यक्रममा वितरण गर्नुभएको हो ।
विसं २०७२ को विनाशकारी भूकम्पबाट अतिप्रभावित अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सहज बनाउन सहयोग पु¥याउने उद्देश्यले उनीहरूको आवश्यकता बमोजिमका सहयोग सामग्री प्रदान गरिएको महामन्त्री धाख्वाले जानकारी दिनुभयो ।
अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानका लागि सोसाइटीले यसअघि ती स्थानमा दुई पटक स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा हाडजोर्नी, आँखा, नाक, कान, घाँटी जाँचलगायत मनोपरामर्श, सामान्य चिकित्सा तथा फिजियोथेरापी गरी चिकित्सकहरूले आवश्यक सहयोग सामग्री उपलब्ध गराउन सिफारिश गरेका थिए ।
सोही सिफारिशका आधारमा सोसाइटीले सामग्री खरिद गरी उपलब्ध गराएको सोसाइटीका वरिष्ठ अधिकृत पूजा कोइरालाले बताउनुभयोे । सोही अवसरमा सोही जिल्लाको रामपुर–५ मा निर्माण गरिएको बाल, लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
सोसाइटीले जिल्लामा पाँच यस्ता सार्वजनिक शौचालय निर्माणमा आर्थिक एवं प्राविधिक सहयोग गरेको थियो । रामपुरका लक्षित ३१ अति सङ्कटासन्न (एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका र ज्येष्ठ नागरिकजस्ता घरमुली रहेका) परिवारमध्ये २३ जनालाई सोसाइटीले प्रतिपरिवार थप रु ५० हजार आवास निर्माणका लागि सहयोग प्रदान गरेको वरिष्ठ अधिकृत कोइरालाले जानकारी दिनुभयो ।
यसअघि सोसाइटीले रामपुरमै लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएकोे थियो । साथै आयोजना मर्मतसम्भारका लागि उपभोक्ता समितिलाई आवश्यक तालीम तथा आवश्यक सामग्री प्रदान गरिएको थियो ।
सोसाइटीद्वारा सञ्चालित संरक्षण, लैङ्गिकता तथा समावेशीकरण कार्यक्रमका लागि रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र अष्टे«लियाली रेडक्रसले आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ ।
–––
तपाईंको प्रतिकृयाहरू