चौतारा, ११ पुस,, सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ Horsefeldia Kingii भएको पत्ता लागेको छ ।
वलेफी गाउँपालिका–३ फुल्पीकोटको घुमसुङे पुछार सामुदायिक वनमा गत जेठमा फेला परेको स्थानीयले रामवुआ भनेर पुकारिने अनौठो रखमा फलेको फलको वैज्ञानिक परीक्षणका लागि वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागमा पठाइएको थियो । विभागका अनुसार उक्त वृक्ष म्याग्नोसिएसी परिवारको भएको र आसामी भाषामा रक्तमुल भनिने गरेको वनविज्ञ नरेन्द्र पराशरले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त वृक्षको उचाइ २० मिटर हुने र गुदीदार फल लाग्ने हँुदा चराहरूले मन पराएर खाने गर्दछन् । उक्त वृक्ष पूर्वदेखि पश्चिमसम्मको मध्यपहाडी क्षेत्रमा पाइए पनि हालसम्म सीमितरूपमा मात्र उपलब्ध छन् । उक्त वृक्षको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने विशेषता रहेको छ ।
त्यसको फल सुपारी आकारको हुन्छ भने खाँदा बाहिरी भागमा नुनिलो र अमिलो तथा भित्री भाग काँचो नरिवलको स्वादको हुन्छ । खाँदा मीठो लागेपनि एक/दुई दानासम्म खाँदा केही नहुने र त्योभन्दा बढी खाए रिँगटा लाग्ने, वाक्वाकी लाग्नुका साथै झाडापखाला समेत लाग्ने र विरामी पर्ने वन उपभोक्ता समितिका अध्यक्ष दलबहादुर थापाले बताउनुभयो ।
विसं २०५२ मा सामुदायिक वन उपभोक्ता समिति गठन हुनु अगाडी देखिनै त्यहाँ सो वृक्ष रहेको थापाको भनाइ छ । करीब चार मिटर गोलाइको उक्त वृक्ष हाल ८०/९० को सङ्ख्यामा रहेको थापाको भनाइ छ ।
कसैले रामवुआ र कसैले रावुआ जस्ता भिन्नभिन्न नामबाट पुकारिने उक्त वृक्षको काठदाउरा स्थानीय कसैले पनि प्रयोगमा ल्याउने गरेका छैनन् । केही वर्षअघि एक स्थानीयले काठदाउरा प्रयोग गरेका र संयोगवश उनले परिवारका दुई सदस्यलाई गुमाउनुपरेपछि स्थानीयले त्यसैलाई दोषी मान्न थालेका छन् । वृक्षको नाममा भगवान् रामको नाम जोेडिएकाले अनिष्ट हुने आशङ्कामा कसैले प्रयोग नगरेको अध्यक्ष थापा बताउनुहुन्छ ।
वृक्षमा लाग्ने फल जेठको पहिलो सातादेखि फल्न सुरु भई असारको पहिलो सातासम्म रहने र त्यस पछि फुटेर झर्ने गर्दछ । गुदीदार फल भएकोले चराचुरुङ्गी र बाँदरले बढी रुचाउने गर्दछन् । त्यसको पात सिउँडी आकारको हुने र चौपायाले समेत नरुचाउने स्थानीयको भनाइ छ ।
उक्त वुक्षको फललाई यस वर्षदेखि चौताराको पातलेपानी वन नर्सरीमा बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक वन अधिकृत तुलाराम घिमिरेले बताउनुभयो । उक्त वृक्षबाट निस्कने रक्त पदार्थको गहनरूपमा अनुसन्धान हुनसकेको खण्डमा औषधिका रूपमा प्रयोग हुनसक्ने सम्भावना देखिएको अधिकृत पराशरले बताउनुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू