जुम्ला ४ पुस,, स्थानीय तहमा कर्मचारी व्यवस्थापनदेखि कार्यालय स्थापनाको काम भइरहेको जनाए पनि दुई नगरपालिका र सात गाउँपालिका भाडाको घर वा काठका टहरा निर्माण गरेर भए पनि सेवा प्रवाह गरिरहेका छन् ।
भौतिक संरचना अभावका कारण एउटै भवनबाट दुई वा दुईभन्दा बढी कार्यालय राखी सेवा दिँदा प्रभावकारी नहुने सेवाग्राही पनि द्विविधामा पर्ने कर्मचारीको भनाइ रहेको छ । कतिपय गाउँपालिकामा कृषि, भेटनरी र अन्य प्रशासनिक काम पनि एकै टेबुलबाट गर्नुपर्ने बाध्यता रहेको जनाएको छ ।
सिजा गाउँपालिका–३ नं वडा काठको टहरा निर्माण गरी कार्यालय सञ्चालनमा रहेको छ । वार्षिक १५ हजार जग्गाको भाडा दिने गरी वडापालिकाले टहरा निर्माण गरी सेवा प्रवाह भइरहेको वडाध्यक्ष तिलाचन्द्र चौलागार्इंले बताउनुभयो । उहाँले भन्नुभयो, “काठको टहरामा वडापालिका सञ्चालन गर्दा यसको सुरक्षा चुनौती छ नै तर पनि नजिकै इलाका प्रशासन कार्यालय र नजिकै प्रहरीचौकी भएकाले खासै समस्या नहोला कि भन्ने छ ।”
साविकको गाविस भवन वडा नं–३ को भवन छ तर त्यसै भवनमा स्थानीय सामुदायिक रेडियो सञ्चालन भएकाले समस्या भएको हो उहाँले भन्नुभयो, “अर्काे भवन पायक पर्ने ठाउँमा नभएकाले पनि नराकोट बजारमा टहरा निर्माण गरेर सेवा दिएका छौँ ।
जुम्लाका एक नगरपालिका, सात गाउँपालिका र ६० वडापालिकाका कार्यालय रहेका छन् । चन्दननाथ नगरपालिका आफ्नै भवनबाट सेवा प्रवाह गरिहेको छ भने अन्य सात गाउँ भाडाकै घरमा स्थापना गरिएका छन् ।
त्यसैगरी ६० वडापालिकाकामध्ये २९ वडापालिका साविकका गाविस भवनमा स्थापना गरी सेवा प्रवाह गरिरहेको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लाखबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयोे, “केही वडापालिकाका कार्यालय र गाउँपालिकाका कार्यालय निर्माणाधीन अवस्थामा रहेका छन् । अन्य ३१ वटा वडापालिका कार्यालय भाडाकै घरबाट चलिरहेका छन् ।”
विवादमा गाउँपालिका केन्द्र
स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष बित्यो तर पनि विवादका कारण स्थानीय सरकारको केन्द्र कहाँ रहने भन्नेमा अन्योल रहेको छ । विशेषगरी जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये तातोपानी र हिमा गाउँपालिकाको केन्द्रका विषयमा चर्काे विवाद भइरहेको छ । गाउँपालिकाकै प्रमुख र उपप्रमुख नै दुई फरक मतमा भएपछि केन्द्रका विषयमा चर्काे विवाद भएको हो ।
तातोपानी गाउँपालिकाका प्रमुख नवराज न्यौपानेले तिलाकोटमा र उपप्रमुख गङ्गादेवी उपाध्यायले बाँबिरामा पालिकाको केन्द्र हुनुपर्ने भन्ने विषय बाजिएपछि यस्तो समस्या भएको हो भने अन्य चार÷पाँच वडाका स्थानीयवासीले लाम्राको ऐरेनीमा हुनुपर्ने माग गरेको स्थानीय अमरबहादुर महतले बताउनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू