महोत्तरी, ३ पुस,, निर्माणकार्य सम्पन्न नहँुदै महोत्तरीको गौशाला सम्सी सडकखण्डको पिच (कालोपत्रे) सडक भागमा चिरा पर्न थालेको छ । गौशाला निगौल चोक भन्दा दक्षिणतर्फको विभिन्न स्थानमा कालोपत्रे निर्माणकार्य जारी रहँदै सडकको विभिन्न ठाउँमा चिरा पर्न थालेको हो ।
स्थानीयवासीय सुरेन्द्रकुमार सिंहका अनुसार रातिको समयमा सडकको क्षमता भारभन्दा बढी तौलका टिपर निर्वाध गुडेपछि सडकमा चिरा पर्न थालेको हो । पछिल्लो समयमा स्थानीयवासीले प्रहरीको सहयोगमा सडक बिग्रन नदिनका लागि भारी क्षमताको सवारीसाधन चलाउनमा रोक लगाउँदै आएको सिंहले बताउनुभयो ।
हुलाकी सडकको निर्माणका क्रममा सडक विभागले दिएको निर्देशन विपरीत सो सडकमा पछिल्लो समयमा ३० टन बराबरको तौलका १० चक्के सवारीसाधन चलेको गौशाला बडा नं– २ का वडा सदस्य कुमरकान्त झाले जानकारी दिनुभयो । सडकमा हाल दैनिक रुपमा ५९ वटा टिपर सञ्चालनमा रहेको झाले बताउनुभयो ।
आफूले आइतबार यस सम्बन्धमा नगर कार्यपालिकाको बैठकमा प्रस्ताव राखे पनि सो उपर ठोस् निर्णय हुननसकेको झाले बताउनुभयो । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले सडकमा चल्ने सवारी साधनको भार क्षमताको निगरानी गर्ने कार्य प्रहरीको नभएको बताउनुभयो । यसको निगरानी जिल्ला प्रशासन कार्यालय, हुलाकी सडक विभागको रहेको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।
सडक निर्माणको क्रममा गुणस्तरीय कार्य हुन नसक्दा सडक बिग्रन थालेको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले स्वीकारनु भएको छ । आइतबारको नगरकार्यपालिकाको बैठकमा समेत केही बेर यस विषयमा छलफल भएकोले आफूले यस सम्बन्धमा सम्बन्धित निकायलाई निगरानी गर्नका लागि अनुरोध गर्ने नगरप्रमुख महतोले बताउनुभयो ।
स्थानीयवासीले सडक अवरुद्ध गरेर विकास निर्माणमा अवरोध नगरी सरोकारवाला निकायलाई समयमै सचेत गराएर समस्या समाधानको लागि पहल गर्न नगरप्रमुख महतोले सबैमा अनुरोध गनुभएको छ ।
जङ्गली हात्तीको आतङ्कले सर्लाही ईश्वरपुरवासी प्रभावित
जङ्गली हात्ती बस्तीमा पसेर आतङ्क मच्चाएपछि सर्लाही ईश्वरपुर नगरपालिकाका– १३ र १४ नं वडाका स्थानीयवासी त्रसित भएका छन् । पछिल्लो समयमा बस्तीको छेउमै रहेको सागरनाथ जङ्गल हुँदै रातिको समयमा आएको तीन हात्तीले बस्तीमा पसेर घर टहरा तथा धनमालमा क्षति पु¥याउँदै बालीसमेत खाएर सखाप पारेपछि स्थानीयवासी त्रसित भएका छन् ।
जङ्गली हात्तीले नगरपालिकाको हरकटवा तथा श्रीनगर क्षेत्रमा गरी २५ घरमा प्रत्यक्ष रुपमा क्षति पारेको छ । स्थानीयवासी त्रसित भई जीवनयापन गर्न बाध्य भएका छन् । स्थानीयवासी जीतन महतोले दिएको जानकारी अनुसार हात्तीको त्रासले रातिमा सुत्न नपाएपछि दिउँसो कामकाज छोडेर सुत्ने गरेको बताउनुभयो । महिला तथा छिमेकीको घरमा राखेर आफूहरु रातभरि नै जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी हीराबहादुर आलेले बताउनुभयो ।
––––
तपाईंको प्रतिकृयाहरू