१० माघ २०८१

कुटपिटबाट हत्या

२ पुष २०७५, सोमबार १६:२१ मा प्रकाशित

सप्तरी, २ पुस,,  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ ।

गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान रोक लगाएको रिसमा युवाले कुटपिट गर्दा मिश्र शनिबार राति घाइते भएका थिए । घाइते मिश्रको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा गएराति मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मिश्रका श्रीमती, दुई वर्षीय छोरा र बृद्ध आमा बुबा छन् । मिश्रको मृत्युसँगै आक्रोशित स्थानीयवासीले आज राजविराज–कुनौली सडक खण्ड अवरुद्ध पारेका छन् । प्रदर्शनकारीले तत्काल अपराधीलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् ।

प्रहरीले कुटपिट गर्ने व्यक्तिको खोजतलास तथा अन्य अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । मिश्रको हत्यामा संलग्न व्यक्तिको पहचान भइसकेकाले अविलम्ब पक्राउ पर्ने प्रहरी उपरीक्षक विष्टले विश्वास व्यक्त गर्नुभयो ।

प्राध्यापक सङ्घमा प्रगतिशील विजयी

त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ, महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराज एकाइको आइतबार अबेर सम्पन्न निर्वाचनमा प्रगतिशील पक्ष विजयी भएको छ । प्राध्यापक सङ्घको अध्यक्षमा उमेशकुमार यादव विजयी भएका छन् । राजविराज क्याम्पसमा सम्पन्न निर्वाचनमा यादवले प्रतिस्पर्धी शिवनारायण यादवलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सङ्घको उपाध्यक्षमा प्रजातान्त्रिक समूहका सुरेशकुमार साह, सचिवमा उमेशप्रसाद यादव विजयी भएका छन् । सहसचिवमा प्रगतिशीलका मानसकुमार अधिकारी र कोषाध्यक्षमा बुलबुल चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका सदस्य सुरेन्द्र गुप्ताका अनुसार सदस्यमा राजीवकुमार मिश्र, महानन्द झा, सुमनप्रसाद सिंह, शिवनारायण यादव, शिवेन्द्रबहादुर सिंह र रामाशिष यादव रहेका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter