११ माघ २०८१

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

१ पुष २०७५, आईतवार १०:११ मा प्रकाशित

लहान, १ पुस,,  गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ ।

आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर निजको दुई घरका साथै छिमेकी कारी दासको दुई घर, देवेन्द्र दासको एक घर र जोगेन्द्र दासको घुम्टी किराना पसल जलेर नष्ट भएको हो ।

आगो निभाउने क्रममा गेनी दासकी ४१ वर्षीया श्रीमति देवकुमारी दास घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्रहरी नायब निरीक्षक प्रदीप सिंहले जानकारी दिनुभयो । आगलागीमा परी गेनी दासको गाई, भैँसी, बाख्रासमेत आठ वटा पशुचौपाया जलेर मरेका छन् भने घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण समान जलेर नष्ट भएको पीडितलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक सिंहले बताउनुभयो ।

घटनाको खबर पाएपछि पुगेको प्रहरी र स्थानीयवासीको मद्दतले एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।

सामान बरामद

प्रहरीको टोलीले सदरमुकाम सिरहाबाट गए राति करीब दुई लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद् गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा बजारबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दूधको पाउडर, खाने तेल, भुजिया, बिस्कुट, विभिन्न मसला, अगरबत्तीलगायत करीब दुई लाख मूल्य बराबरको सामान बरामद गरेको जनाएको छ । बरामद भएको सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडर सिरहामा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter