०५ माघ २०८१

पर्यटक तान्दै हिमाल

१४ मंसिर २०७५, शुक्रबार १४:१४ मा प्रकाशित

मनाङ, १४ मङ्सिर १४,,  मौसम खुलेको हिउँदका दिन चारैतिर दन्तलहरझैँ हिमाल टलक्क देखिन्छन्  । सूर्योदयको समयमा सेता टाकुरामा देखिने बिहानी उषा किरण ।
संसारकै अग्लो पाँच हजार ४१६ मिटर उचाइको हिमाली भञ्ज्याङ थोराङ्ला चढ्न थोराङ फेदी उक्लँदै गर्दा पर्यटकले चारैतिर हिमाल देख्छन् । उनीहरूलाई संसारकै सुन्दर ठाउँमा पुगेको आभास हुन्छ । “पाँचदेखि छ घण्टाको उकालो चढेपछि थोराङ्ला पुग्नेबित्तिकै एकअर्कामा अङ्कमाल गर्छन् । खुशीले रुन्छन् अनि एकअर्काको आँसु पुछ्छन् । उनीहरू आफैँलाई भाग्यमानी ठान्छन”, पर्यटक पथप्रदर्शक युवराज अधिकारीले भन्नुभयो, “पदयात्रामा आउने उनीहरूका लागि यो ठूलो सफलता हो । पदयात्राको सोखिनका लागि थोराङ्ला चढ्नु प्रतिष्ठाको विषय पनि हो ।”
उहाँका अनुसार पदमार्गमा आउने पर्यटकको एउटै उद्देश्य हुन्छ– हिमाल हेर्ने र पदमार्गको अग्लो भन्ज्याङ थोराङ्ला पास गर्ने । सेप्टेम्बर, अक्टोबर र नोभेम्बर मौसम खुल्ने भएकाले उनीहरू यही समय हिमाली क्षेत्र घुम्न आउँछन् । त्यसपछि मार्च, अप्रिल र मे महिना पर्यटकीय मौसम हो ।
मनाङका पर्यटन व्यवसायी एवं पुर्व श्रमराज्य मन्त्री टेकबहादुर गुरुङका अनुसार पर्यटक शान्त वातावरण चाहन्छन् । मानवसिर्जित बन्द र अवरोध मन पराउँदैनन् । “हाम्रो देशमा बन्द हडतालहरू भएका बेला पर्यटकको आगमन घटेको थियो, अहिले बढेको छ”, उहाँले भन्नुभयो, “हाम्रो अर्थतन्त्रलाई सबल बनाउन पर्यटक भित्¥याउने वातावरण बन्नैपर्छ ।” सबै पर्यटक हिमाल हेर्न रुचाउने उहाँले बताउनुभयो । “बिहान उठ्दा होस् वा साँझ सुत्दा, चिया खाँदा होस् या थकाइ मार्दा, उनीहरू हिमाल देखियोस् भन्ने चाहन्छन्”, उहाँले भन्नुभयो ।
यस क्षेत्रमा पर्यटक आगमनको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले राख्ने गरेको छ । एक्याप मनाङको धारापानी चेकपोस्टका अनुसार सन २०१७ मा २७ हजार ६८ विदेशी पर्यटक मनाङ बाटो भएर चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए । सन २०१८ को नोभेम्बर २० सम्म २७ हजार ८ सय बढी पर्यटक भित्रिसकेको चेकपोस्टकी पर्यटन सहायक सोमी गुरुङले जानकारी दिनुभयो । चक्रीय अन्नपूर्ण पदमार्ग भ्रमणका लागि विदेशी पर्यटकलाई सन १९७७ बाट खुला गरिएको हो । १९९६ देखि एक्यापले चक्रीय अन्नपूर्ण पदयात्रामा आउने विदेशी पर्यटकको तथ्याङ्क राख्न थालेको हो ।
चक्रीय अन्नपूर्ण पदमार्ग पैदलै घुम्न कम्तीमा १८ दिन र बढीमा २१ दिन लाग्छ । हिमाली फेदमा पुगेपछि उनीहरू एक दिन थकाइ मार्छन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकाले यहाँ सबै किसिमका वन्यजन्तु तथा जडीबुटी संरक्षित सूचीमा छन् । एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार पर्यटकले हिमालसँगै यस क्षेत्रको प्रकृति पनि हेर्छन् । अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो साथै जुलु पिक, पिसाङ पिक, नीलगिरि, गङ्गापूर्ण र तिलिचो पिक लगायत हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ । थोराङ्ला पुगेपछि धौलागिरि र नीलगिरि हिमाल नजिकै देखिन्छन् ।
“तिलिचो ताल प्रमुख गन्तव्यमध्ये एक हो । संसारकै अग्लो ठाउँमा रहेको भनेर चिनिएको तिलिचो तालले अन्नपूर्ण पदमार्गलाई चिनाएको छ,” प्रमुख तिरुवाले भन्नुभयो । पर्यटकले थोराङ्ला पास, लार्के पास र काङ्ला पास गर्न चाहने उहाँ बताउनुहुन्छ ।
नागबेली मस्र्याङ्दी नदी छेउको स्थानीय स्वाद, स्वागतसत्कार, स्थानीय जनजीवन, परम्परा, कला, संस्कार संस्कृतिमा पर्यटक रमाउने गरेको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । उहाँका अनुसार गुम्बा, छ्योर्तेन र पुलपुलेसा हेरेर पर्यटक रमाउँछन् ।
“ठाउँठाउँमा रहेका तालतलैया, डाँफे–मुनाललगायत चराचुरुङ्गी, नाउर, हिउँचितुवा, मृग लगायत वन्यजन्तुले पर्यटक लोभिन्छन्”, उहाँले भन्नुभयो । यस बीचमा पर्यटक मोबाइल र क्यामरामार्फत फोटो अनि भिडियो कैद गर्छन् । इमेल इन्टरनेटमार्फत आफन्तलाई नेपाली प्रकृतिबारे बताउँछन् ।
चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा काठमाडौँ वा पोखरादेखि सुरु हुन्छ । हिमाली जिल्ला मनाङ र मुस्ताङ सडक सञ्जालमा जोडिएपछि विश्वका १० उत्कृष्ट पदमार्गबाट चक्रीय अन्नपूर्ण पदमार्ग हटेको छ । तर पर्यटक आगमन दिनानुदिन बढ्दो छ । काठमाडौं वा पोखराबाट पहिलो दिन पर्यटक लमजुङको बेंसीसहर बास बस्छन् । त्यसपछि खुदी, बाहुनडाँडा, जगत, धारापानी हुँदै छैटौँ दिन चामे पुग्छन् । चामे, पिसाङ हुँदै नवौँ दिन मनाङ पुगेपछि उनीहरू एकदिन विश्राम लिन्छन् । त्यसपछि लेदर हुँदै ११ औँ दिनमा थोराङफेदी पुग्छन् । १२ औँ दिनमा थोराङला भञ्ज्याङ पास गरेर उनीहरू मुक्तिनाथ पुग्छन् ।
यात्राको क्रममा सबैभन्दा धेरै हिँडाइ थोराङ्लाफेदी देखि मुक्तिनाथसम्म हो । यस बीचमा बस्ने ठाउँ छैन । करिब १० घण्टाको यात्रा गर्नुपर्छ । बीचमा कहीँ कतै चियापसल बाहेक खानेकुरा केही पाइँदैन । खानेकुरा र पानी आफैँले लिएर पर्यटक थोराङ्ला भन्ज्याङ चढ्छन् ।
मुक्तिनाथबाट मार्फा र लेते हुँदै १५ औँ दिनमा तातोपानी पुगेपछि कोही म्याग्दी भएर सिधै पोखरा पुग्छन् । कोही तातोपानीबाट पैदलयात्रा घोरेपानी, बिरेठाँटी हुँदै १७ औं दिनमा पोखरा पुग्छन् र १८ औँ दिनमा काठमाडौँ पुगेर यात्रा पूर्ण गर्छन् । पर्यटक हिँडेर नवौँ दिनमा पुग्ने जिल्लाको मनाङ गाउँसम्मै अहिले मोटर पुगेको छ । त्यस्तै म्याग्दीबाट मुक्तिनाथसम्म मोटर पुगेको छ । पछिल्लो समय मनाङसम्म पर्यटक गाडी चढेर पुग्ने गर्छन् । (तस्बिर उपलब्ध छ ।)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter