काठमाडौँ, ११ मङ्सिर,, श्री चन्द्रविनायक तथा भैरवनाथ जात्रा मार्ग शीर्ष कृष्ण तृतीयाका दिन अमालकोट कचहरीका द्वारेले सिन्दूर चढाएपछि सम्पन्न भयो ।
कार्तिक शुक्ल पूर्णिमाका दिन शुरु भएको जात्रा आज श्री चन्द्रविनायक र भैरवनाथलाई अबीर चढाएपछि सकिएको हो । जात्रा करीब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरुआत गराएको स्थानीयवासीको भनाइ छ । जात्रा सफलतापूर्वक समापन भएको खुशीयालीमा आज दिनभर चाबहिल क्षेत्रमा सिन्दूर जात्रा गरिन्छ ।
जात्रा कार्तिक शुक्ल पूर्णिमाका दिन गत शुक्रबारदेखि चाबहिल क्षेत्रमा शुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ ।
जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले शुक्रबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा शुरु भएको हो । पूर्णिमाका दिन बेलुकी शुक्रबार मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।
यसैगरी मार्ग शीर्ष कृष्ण प्रतिपदाका दिन श्री चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाइँ गङ्गाहिटीमा लगेर स्नान गराउने विधि छ । स्नानपछि दुबै खटलाई शनिबार बेलुकी चारुमती बिहारमा लगेर बिसाइएको थियो । मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् आइतबार दुबै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराइयो । दर्शनपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू