०९ माघ २०८१

हनुमन्ते करिडोर शिलान्यास

११ मंसिर २०७५, मंगलवार १४:४७ मा प्रकाशित

भक्तपुर, ११ मङ्सिर,,   भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य शुरु गरिएको छ ।
सांसद महेश बस्नेतले अरनिको राजमार्ग अन्तर्गत भक्तपुर र मध्यपुरथिमिको सिमानामा रहेको हुनमन्ते खोलाको पुलमा आज करिडोर निर्माणको शिलान्यास गर्नुभयो ।

पहिलो चरणमा दुई किलोमिटर करिडोर निर्माणका लागि रु ८१ करोड लागतको ठेक्का सम्झौता गरी निर्माणकार्य शुरु गरिएको अधिकार सम्पन्न बागमती आयोजनाका प्रमुख आशिष घिमिरेले जानकारी दिनुभयो ।
हनुमन्ते खोलाको चौडाइ साँघुरिँदै गएकाले सो क्षेत्रको खोलाको चौडाइ फराकिलो बनाइ करिडोर निर्माणकार्य शुरु गरिएको आयोजनाले जनाएको छ ।

बागमती नदीको सहायक नदीका रुपमा बहने हनुमन्ते खोलाले वर्षायाममा बस्ती डुबान गर्न थालेपछि आयोजनाले दुई किमि नदी क्षेत्रमा करिडोर निर्माण शुरु गरेको हो । भक्तपुरका चारवटै नगरपालिका चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि क्षेत्र भएर बग्ने हनुमन्ते नदीको कूल लम्बाइ नौ किमि छ । त्यसपछि यो नदी बागमतीमा मिसिन्छ ।

आयोजना प्रमुख घिमिरेले करिडोर निर्माणका लागि हनुमन्ते नदीलाई चार भागमा विभाजन गरी करिडोर निर्माणको प्याकेज तयार गरिएको र पहिलोचरणमा दुई किमि नदी क्षेत्रमा काम शुरु गरिएको जानकारी दिनुभयो ।

करिडोर निर्माण अन्तर्गत रिटेनिङ वाल लगाउने, नदी किनारामा बाटो बनाउने, हरियाली कायम गर्ने र डुबान क्षेत्रको संरक्षण गरिने छ । आगामी दुई वर्षभित्रमा हनुमन्ते करिडोर निर्माण गरिसक्ने आयोजनाको लक्ष्य रहेको छ ।
सो अवसरमा सांसद बस्नेतले आगामी दुई वर्षभित्र करिडोर निर्माण सम्पन्न गर्ने बताउँदै भक्तपुरलाई सवारी चापमुक्त बनाउने र हनुमन्तेको पानी बस्तीमा पस्नबाट रोकिने बताउनुभयो । अब हनुमन्ते ढल नदीमा मिसाए कडा कारवाही गरिने बताउँदै उहाँले भक्तपुरको विकासलाई अब कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।

भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले हनुमन्ते करिडोर निर्माणले भक्तपुरको विकासमा नयाँ खुट्किलो थपिएको बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जनप्रतिनिधि आएपछि भक्तपुरको विकासले फड्को मारेको बताउँदै आगामी चार वर्षभित्र भक्तपुरको गाउँ गाउँको मुहार फेरिने दावी गर्नुभयो ।

नेपाली काङ्ग्रेस भक्तपुरका युवा नेता अष्टकुमार कबेले भक्तपुरको विकासमा कुनै दल वा पार्टी भनेर विभाजित नभइ सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा मध्यपुरथिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले विकासमा कुनै समस्या आएमा सबै मिलेर छलफल र वार्ता गरी समाधान गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।९९९

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter