०५ माघ २०८१

प्रकाशको स्मृतिमा शोकसभा

३ मंसिर २०७५, सोमबार १५:२२ मा प्रकाशित

काठमाडौँ, ३ मङ्सिर,,   तत्कालीन नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारमा स्मृतिसभा आयोजना गरिएको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष दाहाललगायत नेता र परिवार तथा शुभेच्छुकले दिवगङ्त प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । कार्यक्रममा प्रकाशको स्मृतिमा आधारित स्मारिका ‘प्रकाश दाहाल’ को उपराष्ट्रपति नन्दबहादुर पुन र अध्यक्षद्वयले लोकार्पण गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रकाश मिलनसार र व्यावहारिक युवा भएको बताउँदै उहाँलाई महत्वपूर्ण व्यक्तिको सचिवालयको जिम्मेवारी लिएर त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्ने युवा व्यक्तिका रुपमा स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो,“ नेतासमक्ष विभिन्न मानिसका विभिन्न माग, आक्रोश सुनेर स्वकीय सचिवले त्यसको निरुपण पनि गरिदिनुपर्ने हुन्छ त्यस जिम्मेवारीलाई प्रकाशले कुशलतापूर्वक व्यवस्थापन गरेका थिए ।”
प्रधानमन्त्री ओलीले प्रकाशको असामयिक निधनले दाहाल परिवार, पार्टी र राष्ट्रलाई नै क्षति पुगेको उल्लेख गर्दै भन्नुभयो,“उमेर, अपेक्षा र समय बाँकी हुँदै भएको निधन धेरै पीडादायी हुन्छ । प्रकाशको निधन त्यस्तै भयो तर शोकको घडीमा पनि परिवारले गरेको धैर्य अनुकरणीय छ ।”

अध्यक्ष दाहालले आफ्नो परिवारमा परेको वियोगका समयमा जनता र कार्यकर्ताले दिएको सद्भाव र साथका कारण आफूहरुलाई शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलेको बताउनुभयो । छोरा एवं आफ्ना सचिवालयका सदस्य प्रकाशको सम्झनामा बोल्दा अध्यक्ष दाहालको गला अवरुद्ध भएको थियो भने आमा सीता दाहाल भक्कानिनुभएको थियो ।
गत वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अध्यक्ष ओली र दाहाल नेता ओलीको निर्वाचन क्षेत्र झापामा रहनुभएका बेला आजकै दिन प्रकाशको काठमाडौँमा हृदयाघातका कारण निधन भएको थियो । श्रद्धाञ्जलिसभामा सभामुख कृष्णबहादुर महरा, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रिगण, नेता मोहन वैद्य, महन्त ठाकुर, कमल थापालगायतले प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । स्मारिकामा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, सभामुख महरा, प्रकाशका श्रीमती एवं खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलगायतका लेख स्मृति समेटिएका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter