गौशाला, २६ कात्तिक ,, महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रु ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो ।
अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट रु ३० लाखसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताउनुभयो । यहाँका केरा व्यापारीले यस वर्ष सामूहिक रूपमा २५ ट्रक केरा आयात गरेका थिए । ट्रकको भाडा उनीहरुले मिलेर तिर्ने गरेका छन् । यसअघि छठ पर्वमा भारतबाट झण्डै १५ ट्रकसम्म केरा आयात गरिँदै आएको थियो । जलेश्वर बजारमा प्रतिघार केरा रु चार सयदेखि रु आठ सयसम्ममा बिक्री भइरहेको छ ।
तालतलैया सिँगारिँदै
छठ पर्वको लागि महोत्तरीका नदी, पोखरी र ताल तलैया दुलहीझैं सिँगारिएका छन् । करीब सात लाख जनसङ्ख्या रहेको जिल्लाका रातु, बाँके, महरा, औंकशी, जङ्घा, कुटमेश्वरी, विग्हीलगायतका नदी, पोखरी तथा तालतलैया दुलहीझँै सिँगारिएका छन् ।
प्रत्येक नदी, पोखरी र तालतलैयामा छठ घाट निर्माण गरिएको छ । अधिकांश घाटमा ठूल–ठूला पंडाल, कलात्मक गुफा र सूर्य भगवान्को मूर्ति निर्माण गरिएको छ भने सबै घाटलाई झिलीमिली बत्ती र झकीझकाऊका वस्तुले सजाइएको छ । धेरैजसो ठाउँमा नाचगान, नाटक र सांस्कृतिक कार्यक्रमको पनि व्यवस्था गरिएको छ । मङ्गलबार साँझ छठ पर्वका लागि घाटमा अघ्र्य दिन जानुअघि आजै जिल्लाका प्रत्येक घाटलाई सिँगारिएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू