पर्वत, २३ कात्तिक,, चिसो बढेसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । कात्तिक महीना शुरु भएदेखि नै उनीहरुले गाउँ छाडी देशका विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार शुरु गरेका हुन् ।
वृद्धवृद्धाबाहेक अधिकांश सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो हप्तासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोन्हुपकी म्यान्मी गुरुङले बताउनुभयो । उनीहरुले आफ्नै लगानीमा लत्ताकपडाका साथै सियो, धागो र जिम्बु, सिद्रालगायतका सामग्रीको व्यापार गर्दै आएका छन् ।
चार महीना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले असोज अन्तिम साताभित्र अन्नबाली थन्क्याएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको पर्वतको कुश्मामा आइपुग्नुभएकी उपल्लो मुस्ताङको छोसेरकी झ्याली गुरुङले बताउनुभयो । उहाँका अनुसार लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाँडो छल्न तल झर्ने गरेका छन् । उहाँले कोरल्ला नाकाबाट भित्रिएका सामग्री र स्थानीय उत्पादनको व्यापार गरिरहेको बताउनुभयो ।
अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनका अनुसार घरमा काम गर्न नसक्ने वृद्धवृद्धा मात्रै रहेका छन् । चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गरेका छन् । “अधिकांश गाउँ अहिले सुनसान बनेका छन्, यो अवस्था फागुनसम्म रहन्छ”, प्रमुख शेरचनले भन्नुभयो, “अन्नबाली पनि नहुने भएपछि उनीहरुले घुम्ती व्यापारबाटै जीविका चलाउनुपर्ने अवस्था रहेको छ ।” उपल्लो मुस्ताङमा फापर, आलु, जौ, गहुँजस्ता अन्नबाली केही मात्रामा खेती गर्ने गरिएको छ ।
यो मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गरेर बर्खायामलाई पुग्ने गरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन रहेको छ । मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दा जिल्लाकै तल्लो क्षेत्रका साथै पर्वत, म्याग्दी, बागलुङ, कास्की, गोर्खा, तनहुँलगायत देशका अधिकांश जिल्लामा पुगेर घुम्ती व्यापार गर्ने गरेको एक्यापका प्रमुख शेरचनको भनाइ छ ।
लोमन्थाङस्थित राष्ट्रिय निमावि पनि जाडोयाममा पोखरामा पढाइ सञ्चालन गर्नका लागि तयारीमा जुटिरहेको विद्यालयले जनाएको छ । यो विद्यालयमा प्रत्येक वर्ष मङ्सिरदेखि फागुनसम्म पोखरामा पढाइ सञ्चालन हुने गरेको स्थानीय शिक्षक विनोद पौडेलले बताउनुभयो । उपल्लो मुस्ताङका अधिकांंश बासिन्दा कुनै न कुनै प्रकारको व्यापार व्यवसाय गर्न जाडो लाग्नासाथ झर्न थाल्छन् । व्यापार गर्न नहिच्किचाउने र सानोठूलो जुनसुकै व्यापार गरिरहने मुस्ताङेको विशेषता रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू