०५ माघ २०८१

सरकारी कार्यालय खोज्दै नगरपालिका

१५ कार्तिक २०७५, बिहीबार ११:१८ मा प्रकाशित

कुश्मा, १५ कात्तिक ,,   कुश्मा नगरपालिकाको कार्यालय अझैसम्म भाडाकै घरमा सञ्चालित छ ।

कुश्मामा विभिन्न सरकारी कार्यालय रहे भए पनि नगरपालिकालाई भवन अभाव भएपछि नगर कार्यपालिका सदस्यले बुधबार सदरमुकाम कुश्माबजारमा रहेका सरकारी कार्यालयमा नगरपालिकाको बोर्ड झुण्ड्याएका छन् ।

कार्यालय व्यवस्थापनका लागि पटक–पटक जिल्ला समन्वय समितिलाई अनुरोध गर्दा ध्यान नदिइएको भन्दै नगर सदस्यले बोर्ड झुण्ड्याएका हुन् । यसअघि नगरप्रमुख रामचन्द्र जोशीसहित नगर कार्यपालिका सदस्यले तत्कालीन जिल्ला विकास समिति बसेको भवन नगरपालिकालाई उपलब्ध गराउन अनुरोध गर्दै आएको थियो ।

समन्वय समिति प्रमुख मनोहर बी पौडेललाई नगर कार्यपालिका सदस्यहरूले पटकपटक अनुरोध गर्दा पनि आफू बसेको भवन पनि नदिने र अरू कार्यालय व्यवस्थापनमा पनि सहयोग नगरेको कार्यपालिका सदस्यले गुनासो गर्दै आइरहेका थिए ।

बुधबार नगरपालिका सदस्यसहित कर्मचारीको समेत समूहले कुश्माको बडागाउँमा रहेका साविकको जिल्ला पशु सेवा कार्यालय र सीप विकास कार्यालयको भवनमा आफ्नो साइनबोर्ड राखेका छन् ।

कार्यपालिका सदस्य तथा वडा नं ११ का वडाध्यक्ष शिव पौडेलले अधिकृतस्तरका कर्मचारीको कार्यालय सामाग्री अझै पनि झोलामा लिएर सडकमा काम गर्नुपर्ने बाध्यता रहेकाले सरकारी कार्यालयमा नगरपालिका राख्ने गरी आफूहरुले ती भवन प्रयोग गर्न थालेको बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter