इस्तानबुल, ३० असोज ,, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ साउदी लेखक एवं पत्रकार जमाल खसोग्गी बेपत्ता भएको बारेमा छलफल गर्न साउदी अरेबिया पुग्नुभएको छ । उहाँले साउदी राजा सल्मानसँग भेटवार्ता गर्नुभएको छ ।
टर्कीको स्तानबुलस्थित साउदी राजदूतावासमा दुई साताअघि प्रवेश गरेका लेखक जमाल खसोग्गी त्यसयता बेपत्ता छन् ।
विवाद बढ्दै गएपछि टर्कीका अधिकारीहरुले दूतावासभित्र खोजतलास गरेलगत्तै विदेशमन्त्री पोम्पेओ साउदी अरेबिया पुग्नुभएको हो । प्रहरीले दोस्रो खोजी कार्य पनि गर्ने टर्कीको विदेश मन्त्रालयले जनाएको छ ।
टर्कीका अधिकारीहरुले खसोग्गीलाई दूतावासभित्रै हत्या गरिएको र त्यहीँभित्र गाडिएको आशंका गरेका छन् । साउदी अरेबियाका अधिकारीहरुले भने टर्कीको आरोप आधारहीन रहेको बताउँदै आएका छन् । तर अमेरिकी सञ्चार माध्यमहरुले साउदी अरेबियाले दूतावासभित्रै खसोग्गीको हत्या भएको स्वीकार गरेको जनाएका छन् ।
पोम्पेओ रियाद पुग्दा साउदी अरेबियाका विदेशमन्त्री अब्देल अल–जुबेरले स्वागत गर्नुभएको थियो । उहाँले तत्काल कुनै प्रतिक्रिया दिनु भएन ।
त्यसलगत्तै राजदरबार पुग्नु भएका पोम्पेओलाई साउदी राजा सल्मानले स्वागत गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खसोग्गी बेपत्ता भएको बारे छलफल गर्न विदेशमन्त्री पोम्पेओलाई साउदी अरेबिया पठाउनुभएको थियो । राजा सल्मानसँग भएको कुराकानीलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले “दुष्ट हत्यारा”ले खसोग्गीको हत्या गरेको हुनसक्ने जानकारी दिनुभएको थियो ।
ट्रम्पको उक्त जानकारी सार्वजनिक हुनासाथ विश्वभरबाट साउदी अरेबियाको आलोचना भइरहेको छ । ट्रम्पले राजा सल्मानले खसोग्गीको हत्याबारे आफूलाई बिल्कुलै थाहा नभएको प्रतिक्रिया दिएको बताउनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू