०४ माघ २०८१

तितेपातीबाट तेल उत्पादन

१९ आश्विन २०७५, शुक्रबार १६:२० मा प्रकाशित

खोटाङ, १८ असोज,,   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ ।

पाथेकाका नौ युवाको समूहले शेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालेको हो । करीब रु ३५ लाखको लगानीमा पाथेकाको तापखोलास्थित त्रिवेणीमा सो उद्योग स्थापना गरिएको हो । ‘समृद्धि पथ एग्रो कम्पनी प्रालि’द्वारा सञ्चालित सो उद्योगबाट हालसम्म २५ लिटर तेल उत्पादन भएको सञ्चालक मुगाधन राईले बताउनुभयो ।

“तीन हप्तासम्म परीक्षण गरेर तेल प्रशोधन गर्न थालिएको हो,” उहाँले भन्नुभयो । सो क्षेत्रमा पर्याप्त मात्रामा तितेपाती रहेको छ । औषधिका रुपमा प्रयोग गरिने तितेपाती तेलको माग बढ्दै गएको राईले बताउनुभयो । प्रतिलिटर रु आठ हजार ५०० का दरले तेल बिक्री भइरहेको छ । “हामीले तेल उत्पादन थालेलगत्तै विभिन्न ठाउँबाट माग आउन थालेको छ”, राईले भन्नुभयो, “हाम्रो उत्पादनले बजार पाउन थालेको छ ।”

तेल उत्पादन गर्नका लागि एक पटकमा करीब ७०० किलो तितेपाती पकाउनु पर्छ । दुई पटकमा गरी करीब दुई लिटर तेल निकाल्न सकिन्छ । तितेपाती सङ्कलन गरी वाष्पीकरण विधिबाट पकाएर तेल निकाल्ने गरिन्छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter