०९ माघ २०८१

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्नेविरुद्ध मुद्दा दायर

१६ आश्विन २०७५, मंगलवार २३:४४ मा प्रकाशित

काठमाडौँ, १६ असोज ,,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्लाको साबिक देवीपुरका गाविस सचिव जीवनकुमार धितालले रु १८ लाख ३९ हजार ३५२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उहाँविरुद्ध आव २०७३÷७४ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, असहाय, विधवा, अशक्त, अपाङ्ग तथा बालपोषणको रकम झिकी हालसम्म पनि नबाँडेको र विकास निर्माणको रकमसमेत हिनामिना गरेको अभियोग लागेको छ । बैंकबाट सरकारी बजेट निकाली आफ्नो घर व्यवहारमा लगाई सरकारी रकम दुरुपयोग तथा हिनामिना गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

यस्तै आयोगले आजै जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा कार्यरत प्रहरी हबल्दार नुरूल होदा अन्सारीले रु ३० हजार घुस लिएको अभियोगमा मलङ्गवा नगरपालिका–१० स्थित टावरचोकबाट आज पक्राउ गरेको छ । नेपाल–भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाई सेवाग्राहीसँग हबल्दार अन्सारीले घुस माग्दामाग्दै आयोगको टोलीले पक्राउ गरेको थियो । आयोगले जिल्ला स्वास्थ्य कार्यालय, जुम्लामा परिवार नियोजन सुपरभाइजर पदमा कार्यरत देवबहादुर सुवेदीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter