काठमाडौं/ १४ आश्विन
नजिकिँदै गरेको दशै, तिहार तथा छठका लागि भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले आफू मातहत क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको छ । काठमाडौं परिसरले विभिन्न १४ शीर्षकमा चाडबाड लक्षित विशेष सुरक्षा योजना अघि बढाउँदै ३ हजार ५ सय ३५ प्रहरी परिचालन गर्ने भएको हो । प्रहरी सुरक्षा योजनाअनुसार, उनीहरु ५ मिनेटमै घटनास्थलमा पुग्ने छन् ।
परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सम्भावित घटनाको नियन्त्रणका लागि परिसरले विशेष सुरक्षा योजना ल्याएको बताए ।
‘दशैं तिहार तथा छठका लागि विशेष सुरक्षा योजना ल्याएका छौं, यस समयमा आपराधिक क्रियाकलापसहित अन्य घटनासमेत हुन सक्छन्, हामीले साधन स्रोतको अति नै प्रयोग गर्ने गरी तयारी गरेका छौं,’ परिसर प्रमुख एसएसपी लामाले पत्रकार सम्मेलनमा भने ।
उनका अनुसार विभिन्न १४ वटा शीर्षकमा क्षेत्र वर्गीकरण गरेर प्रहरी परिचालन गरिने छ । प्रहरी घटनास्थलमा घटना भएको पाँच मिनेटभित्रै पुग्ने उनले दाबी गरे । सुरक्षाका लागि ६० वटा पैदल गस्ती, ६१ पिकेटिङ स्थान, ३६ साइकल गस्ती टोली, ३० मोटरसाइकल गस्ती टोली, २४ गाडी गस्ती टोली, ७० वटा सूचना संकलन टोली (सादा पोशाकमा) अपराध महाशाखा बाहेक परिचालन गरिने परिसरको तयारी छ ।
यस्तै घटनास्थल शिल तथा सर्चका लागि भन्दै ३० टोली परिचालन गरिने भएको छ । ३० वटा कर्डर प्वाइन्ट तोकेर जतिबेला पनि प्रहरीले आवश्यक निगरानी तथा अनुसन्धान गर्न सक्ने छ । यसैगरी चोरीका घटनालाई लक्षित गरेर विभिन्न ३० स्थानमा एम्बुस टोली खट्ने छ ।
यसैगरी काठमाडौं भित्रिने तथा बाहिरिने नाकाहरुमा ७ समूहले तालिम प्राप्त कुकुरबाट सुरक्षा चेकजाँच गर्ने परिसरको तयारी छ । प्रहरीले घटनास्थलमा तत्कालै पुग्न सक्ने गरी समेत तीन स्टाइकिङ टोली खटाउने छ ।
काठमाडौंबाट बाहिरिने यात्रुहरुको घर तथा डेराको सुरक्षामा समेत प्रहरीले विशेष निगरानी राख्ने छ । त्यसका लागि ५३ ओटा हतियारसहितको मोटरसाइकल गस्ती टोली खट्नेछन । उनीहरु गल्ली गल्लीमा परिचालित हुने छन् । यस्तै २५ विभिन्न स्थानमा नाकाबन्दी टोली खटाइने प्रहरी तयारी छ । उनीहरुले घटना भएको स्थललाई तत्कालै घेरा हाल्ने छन् ।
उपत्यकाबाट बाहिरिने १० विभिन्न नाकामा समेत प्रहरीले काउण्टर राख्ने भएको छ ।
परिसरले सुरक्षा चुनौतीसहित सुरक्षा आवश्यक पर्ने क्षेत्र निक्र्यौल गरेर योजना बनाएको छ । जसमा सम्भावित खतरासहित सुरक्षा गर्नु पर्ने स्थलसमेत तोकेर निगरानी गरिने बताइएको छ ।
यी क्षेत्रमा हुन्छन् सुरक्षा जोखिम
प्रहरीले चाडपर्वको समयमा सुरक्षा जोखिममा हुने स्थान पनि छुट्टयाएको छ । जसलाई मध्यनजर गरेर सुरक्षा योजना तयार पारिएको परिसरले जनाएको छ ।
सामान्य अवस्थामा हत्या, अपहरण, ठगी, चोरी महिला हिंसा जस्ता आपराधिक क्रियाकलाप बढी देखिने गरिए पनि चाडपर्वको समयमा कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा विक्री, आगजनी, विष्फोटन, तस्करी, चोरी, निकासी, दुर्घटना, ठगी, ट्राफिक नियमको उल्लंघन जस्ता क्रियाकलाप हुन सक्ने विश्लेषण प्रहरीले गरेको छ ।
सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान, मठ मन्दिर र गुम्बा रहेको स्थान सुरक्षा जोखिम रहने प्रहरीले आँकलन गरेको छ ।
त्यस्तै वित्तीय संस्था, आर्थिक कारोबार हुने क्षेत्र, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोबार हुने ठाउँ र भिडभाड हुने अन्य क्षेत्र, सरकारी कार्यालय, काठमाडौं प्रवेश गर्ने नाका, होटल गेष्टहाउस र भीआईपी आवतजावत हुने स्थानमा पनि सुरक्षा जोखिम रहने प्रहरीको आँकलन छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू