काठमाडौँ : नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।
फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको हो ।
उक्त ऐनको दफा २६३ मा भनिएको छ, ‘बैंक नोटमा लेख्न वा कोर्न हुँदैन । त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’
यो ऐन आउँदो भदौ १ देखि लागू हुँदै छ ।
नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो । यसअघि जाली नोट कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो ।
राष्ट्र बैंकले नयाँ व्यवस्थाअनुसार नोट केरमेट नगर्न/नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
नक्कली नोट वा सिक्का (खोटा) बनाएको पाइए १० वर्षसम्म कैद र लाख रुपैयाँसम्म जरिवाना हुनेछ । झुत्रा नोट दुरुपयोग गर्नेले पनि कारोबाही भोग्नुपर्नेछ ।
त्यस्ता नोट कानुनबमोजिम नष्ट नगरी कुनै लाभ पाउने बदनियतले प्रयोगमा ल्याएको भेटिए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । कान्तिपुर दैनिकबाट
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू