काठमाडौं।
सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिले भूमिगत, अर्धभूमिगत, द्वन्द्वरत र असन्तुष्ट राजनीतिक दल तथा समूहसँग वार्ताको तयारी अघि बढाएको छ । समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत राजनीतिक दल तथा समूहलाई वार्तामा आउन आह्वान गर्न लागेको हो ।
सरकारद्वारा द्वन्द्वरत पक्षसँग वार्ता गर्न गठित उच्चस्तरीय राजनीतिक वार्ता समिति २०७५ ले सोमबार (आज) सार्वजनिक रूपमा द्वन्द्वरत पक्षलाई वार्ताका लागि आह्वान गर्न लागेको हो ।
समितिका संयोजक तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले सोमबार सार्वजनिक रूपमा द्वन्द्वरत पक्षलाई वार्ताका लागि आह्वान गरेर वार्ता प्रक्रिया अघि बढाइने बताए ।
विभिन्न माग राखेर आन्दोलनरत तथा द्वन्द्वरत विभिन्न पक्षलाई वार्ताका लागि औपचारिक रूपमा आह्वान गर्नुअघि समितिले पूर्व शान्ति मन्त्रीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू तथा सञ्चारकर्मीलगायतसँग परामर्श गरेको थियो । संयोजक पाण्डेले नेपालले संविधानसभाबाट संविधान बनाई निर्वाचनसमेत सम्पन्न गरिसकेको स्थितिमा अझै पनि केही द्वन्द्वरत समूह बाँकी रहेकाले सबैलाई मूल प्रवाहमा ल्याउन आवश्यक भएकाले वार्ताका लागि आह्वान गर्न लागिएको बताए ।
चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, तराईका भूमिगत समूहलगायत द्वन्द्वरत तथा असन्तुष्ट पक्षसँग वार्ता गरेर समस्या समाधान गर्न ८ भदौमा मन्त्रिपरिषद् बैठकबाट पाँच सदस्यीय सरकारी वार्ता टोली गठन गरिएको थियो । १४ भदौमा समितिले कार्यालय स्थापना गरेर गृहकार्य थालेको थियो । सरकारले समिति गठन गरेपछि संक्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय समिति गठन गरिएको जनाएको थियो ।
सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार समितिले अन्तरिम संविधानबमोजिम गठित संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिबाट छुटफुट भएका विषयलाई निरन्तरता दिने र विगतमा भएका सहमति–सम्झौता कार्यान्वयनका निम्ति सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्य गर्नेछ ।
संयोजक पाण्डेले वार्ताका लागि सार्वजनकि आह्वान नगरे पनि चार÷पाँचवटा समूह वार्ताका लागि सम्पर्कमा आइसकेको र उनीहरूको मागका विषयमा टिपोट सुरु भइसकेको जनाएका छन् । पाण्डे संयोजक वार्ता टोलीका सदस्यहरूमा सुरेश आलेमगर, ताराकान्त चौधरी, लीलाकुमारी भण्डारीलगायत छन् ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू