०७ माघ २०८१

‘बिम्स्टेक रणनीतिक र सुरक्षासँग सम्बन्धित सङ्गठन होइन’

२४ भाद्र २०७५, आईतवार २३:२९ मा प्रकाशित

काठमाडौँ, २४ भदौ ,,   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)लाई हरसम्भव आर्थिक विकासका क्षेत्रमा केन्द्रित गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले बिम्स्टेक रणनीतिक र सुरक्षासँग सम्बन्धित सङ्गठन नभएकाले यसको गतिविधि आर्थिक र प्राविधिक सहयोगमा नै केन्द्रित रहँदै आएको उल्लेख गर्नुभयो । स्वतन्त्र, असंलग्न र शान्तिपूर्ण नीतिका आधारमा नेपाल बिम्स्टेकलगायत सङ्गठनमा सहभागी हुँदैआएको बताउँदै परराष्ट्रमन्त्री ज्ञावलीले सरकारले आफ्नो मुलुकको अधिकतम हितलाई ध्यानमा राखेर काम गर्ने स्पष्ट गर्नुभयो ।

बिम्स्टेक मुलुकको शिखरसम्मेलनका सन्दर्भमा कुनै पनि तहमा संयुक्त सैनिक अभ्याससम्बन्धी विषयमा छलफल र निर्णय नभएको बताउँदै उहाँले सुरक्षाको विषय उठाउँदा परम्परागत ढङ्गबाट मात्र होइन, विपद् व्यवस्थापन, जलवायु परिवर्तनजस्ता विषयलाई पनि जोडेर हेर्न आवश्यक छ भन्नुभयो ।

यसअघि ज्येष्ठ सदस्यका रुपमा बैठकको अध्यक्षता गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुरक्षा र कूटनीतिजस्ता विषयमा निर्णय लिनुअघि सदन र सरकारका विभिन्न तहमा पर्याप्त छलफल आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल राष्ट्रको सार्वभौमसत्ता र नेपाली जनताको बृहत्तर हितलाई केन्द्रित गरेर निर्णय हुनुपर्छ, नेपाली जनताले आशङ्का गर्ने र राष्ट्रहित विपरीत हुन जाने काम कसैबाट हुनुहुन्न, हामी असंलग्न परराष्ट्र नीतिबाट टाढा जान सक्दैनांैँ, सार्कलाई समाप्त पार्नेतर्फ जाँदैनांै ।”
बैठकमा समितिका सदस्यले मुलुकलाई दूरगामी रुपमा असर पर्ने विषयमा निर्णय लिनुअघि सदन र समितिलाई विश्वासमा लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुने सुझाव दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter