काठमाडौँ, १७ भदौ ,, यस वर्षको १४औँ निजामती सेवा दिवस आदर्श वाक्य ‘नतिजामुखी प्रशासन -समृद्धि र सुशासन’ भन्ने चयन गरिएको छ ।
दिवस मूल समारोह समितिका संयोजक मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको बैठकले आदर्श वाक्य चयन गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । दिवसकै अवसरमा भदौ २१ गते दिउँसो ४ देखि ६ बजेसम्म सिंहदरबारमा रहेका सबै मन्त्रालयले आफ्नो कार्यालय परिसरमा सरसफाइ कार्यक्रमसमेत राखिएको छ ।
यही भदौ २२ गते मनाइने निजामती दिवस प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आथित्यमा सिंहदरबार मनाइनेछ । यसैगरी मन्त्रालयले सबै कार्यालय, केन्द्र, आयोग र स्थानीय तहलाई दिवस मनाउने निर्देशनसमेत दिइएको मन्त्रालयका उपसचिव सुप्रभा ढुङ्गेल खनालले जानकारी दिनुभयो ।
विसं २०६२ भदौ २२ गतेबाट औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा सरकारले कर्मचारीलाई पुरस्कृत गर्नेछ । प्रवक्ता अधिकारीका अनुसार यसपटक एक जनालाई सर्वोत्कृष्ट निजामती पुरस्कार, १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती सेवा सम्मान प्रदान गरिनेछ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू