रत्ननगर, १३ भदौ ,, दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन गरेको छ ।
भदौ सात गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जीतबहादुर राईलाई बाघले आक्रमण गरेर मारेको थियो ।
सो बाघ समस्याग्रस्त भएर बस्तीमा निस्किएको निष्कर्षसहित नियन्त्रणमा लिन टोली परिचालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा वन्यजन्तु प्राविधिकसहित ३४ जनाको टोली बाघ नियन्त्रणमा खटिएका छन् । बाघ समाउन छ वटा हात्ती प्रयोग गरिएको छ । बाघलाई डाट गरेर बेहोस बनाई नियन्त्रणमा लिइन्छ ।
“बाघ बस्ती वरिपरिनै बसिरहेको छ, मान्छे मारेपछि गोठको एउटा बाच्छीसमेत खायो, त्यसपछि अहिले पाडो राखेर नियन्त्रण प्रयास जारी छ,” प्रमुख ढकालले भन्नुभयो । उहाँका अनुसार मङ्गलबार नियन्त्रण गर्न लाग्दा बाघ फुत्किएको थियो आज पनि बिहानैदेखि सो क्षेत्रमा बाघ नियन्त्रणका लागि टोली खटिएका छन् ।
यसअघि साउनको २१ गते भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले मारेको थियो ।
त्यसपछि नियन्त्रणमा लिएको बाघ मरेको निकुञ्जले जनाएको छ । बाघ बूढो भएर मरेको ढकालले जानकारी दिनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू