तेहरान, इरान, १२ भदौ ,, इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार राज्यमा देखिएको आर्थिक कठिनाइलाई लिएर दिएको जवाफमा इरानी सांसदहरू सन्तुष्ट नभएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सरकारले सामानको तस्करी, पश्चिमा बैङ्कहरूद्वारा गरेको प्रतिबन्ध, वेरोजगारी दर, आर्थिक मन्दी र विदेशी मुद्राको दरमा वृद्धि लगायतका समस्याका बिषयमा नियन्त्रण गुमाएको बिषयमा सांसदहरूलाई जवाफ दिन रौहानी संसदमा उपस्थित हुनुभएको थियो ।
सांसदहरूलाई रौहानीले दिएको जवाफमा बैङ्किङ प्रतिबन्धबारे दिएको जवाफ बाहेक अन्य सवालहरूमा सांसदहरू सन्तुष्ट नभएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
रौहानीले सांसदहरूलाई दिएको जवाफका क्रममा आर्थिक बिषयलाई नियन्त्रणमा राख्न सरकारले गर्नुपर्ने कतिपय बिषयमा कमजोरी भएका स्वीकार्नुभएको थियो ।
सांसदहरूले आर्थिक सङ्कटका बिषयमा थप समीक्षाका लागि सवालहरू र राष्ट्रपतिको जवाफलाई न्यायालयमा पठाउन सक्नेछन् ।
सांसदहरूले राष्ट्रपतिको जवाफमा सन्तुष्ट नभएपछि इरानको संसदले रौहानीविरुद्ध अभियोग दर्ता पनि गर्न सक्नेछन् ।
गत आइतबार इरानी सांसदहरूले रौहानीको मन्त्रीमण्डलका आर्थिक मामिला मन्त्रीलाई इरानमा देखिएको आर्थिक सङ्कटको दोषी मान्दै उहाँलाई विश्वासको मत दिएका थिएनन् ।
इरानमा पछिल्लो केही समय यता अमेरिकाले इरानविरुद्ध लिएको अडान तथा देशमा नै देखिएको राजनीतिक अन्यौलताका कारण यहाँको मुद्रामा भारी गिरावट आएको छ ।
–––
तपाईंको प्रतिकृयाहरू