काठमाडौँ, ८ भदौ ,, इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ ।
समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि आजको खेल नेपालले जित्नैपर्ने दबाब रहेको बताउनुहुन्छ ।
एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालले ३२ वर्षपछि एशियाली खेलकूदमा भलिबलमा सहभागिता जनाएको हो । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो । भलिबल राष्ट्रिय खेलसमेत हो ।
नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज गिरी, राज शेरचन, धनबहादुर भट्ट क्षेत्री, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरवबहादुर बम र विशालबहादुर विक रहेका छन् । प्रशिक्षकमा जगदीशप्रसाद भट्ट, लेस्ली दि जोञ्जे व्यलनभ र व्यवस्थापकमा भरतबहादुर शाह रहनुभएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू