सुर्खेत, ३ भदौ, सुर्खेतमा एक वर्षमा १२ हजार ४३५ जनाले नागरिकता लिएका छन् ।
आव २०७४÷०७५ मा जिल्ला प्रशासन कार्यालय सुर्खेतले १२ हजार ४३५ जना नागरिकलाई नागरिकता प्रदान गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार सबैभन्दा बढी नयाँ नागरिकता लिनेको सङ्ख्या रहेको छ । जिल्ला प्रशासनबाट बंशजका आधारमा सात हजार ७४७, प्रतिलिपि नागरिकता चार हजार ६८२ र वैवाहिक अङ्गीकृत नागरिकता छ जनाले लिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिनुभयो ।
एक वर्षमा चार हजार राहदानी
यसैगरी यस जिल्लाबाट सिफारिश भएर राहदानी लिने एक हजार ८६२ र द्रुत सेवाबाट राहदानी लिने सिफारिश भएका दुई हजार ७७ जना रहेको सूचना अधिकारी लामिछानेले बताउनुभयो ।
कार्यालयले आव २०७४÷०७५ मा चार हजार १२३ विभिन्न सिफारिश गरेको उहाँको भनाइ छ ।
एक करोड एक लाख राजश्व सङ्कलन
गएको आव २०७४÷७५ मा रु एक करोड एक लाख ११ हजार ९७७ राजश्व सङ्कलन भएको जनाएको छ ।
राहदानी शुल्क, दण्ड जरिवाना, अवैध हातहतियार खरखजाना, संस्था दर्ता तथा नवीकरण लगायतको कार्यबाट रु एक करोड बढी राजश्व सङ्कलन भएको सूचना अधिकारी लामिछानेले बताउनुभयो ।
नौ करोड राहत वितरण
जिल्ला प्रशासन कार्यालय सुर्खेतले आव २०७४÷७५ मा रु नौ करोड राहत वितरण गरेको छ । विभिन्न समयमा विभिन्न राहतबापत कार्यालयले रु आठ करोड ८९ लाख १४ हजार ५९४ को राहत वितरण गरेको हो ।
कार्यालयले वैदेशिक रोजगार क्षतिपूर्तिबापत रु ६० लाख ७० हजार ८९४, दैवीप्रकोप राहत रु १७ लाख चार हजार ५००, सवारी दुर्घटनाबाट पीडितलाई राहत रु २० लाख ७५ हजार राहत वितरण गरेको छ ।
त्यस्तै द्वन्द्वपीडितलाई रु सात करोड ९० लाख ६४ हजार वितरण गरिएको छ । जसमध्ये मृतकका हकदारलाई रु एक करोड ९१ लाख ५० हजार, बेपत्ताका हकदारलाई रु ३५ लाख, टुहुरालाई राहत रु सात लाख ३३ हजार ३००, अपाङ्गलाई रु ११ लाख ९० हजार ४०० र विस्थापितलाई रु पाँच करोड ४४ लाख ९० हजार ५०० राहत वितरण गरिएको छ ।
–––
तपाईंको प्रतिकृयाहरू