२९ साउन, काठमाडौं । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले काठमाडौंको सुरक्षा व्यवस्था मजबुत भएकाले ढुक्क हुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको दिन बिहानैदेखि उपत्यकाका विभिन्न स्थानमा भेटिएको बमले सर्वसाधारण त्रसित बनेरहेका बेला प्रमुख पोखरेलले निर्धक्क भएर हिँडडुल गर्न सर्वसाधारणलाई आग्रह गरेका हुन् ।
प्रमुख पोखरेलले अनलाइनखबरसँग कुरा गर्दै अज्ञात समूहले मानिसहरुको पातलो उपस्थिति रहेको र सुनसान एरिया छानेर शंकास्पद वस्तु राखेकाले त्रसित हुनुपर्ने अवस्था नरहेको बताए ।
पाेखरेलका अनुसार, उपत्यकामा भेटिएका सबै स्थानका बम निष्क्रिय पारिएकाे छ । ‘कतिपय स्थानमा प्लास्टिकको झोलामा खतरा लेखिएको वस्तु देखिएकोमा ती सबै डिस्पोज भइसकेको छ’, पोखरेलले भने, ‘त्रास देखाउने प्रयास मात्र देखिएको छ । डराउनु पर्ने स्थिति छैन ।’
उनले राजधानीको शान्ति, सुरक्षा मजबुत बनाइएको बताउँदै व्यापक प्रहरी परिचालित भएको पनि बताए ।
प्रहरीले शंकास्पद वस्तु राख्दै हिँड्ने विप्लव समूहका दुई जनालाई पक्रेको छ । प्रमुख एसएसपी पोखरेलले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए ।
saabhar: onlinekhabar
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू