कलैया, २० साउन (रासस) ः नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई असफल पार्ने र नेकपाको एकता भाँड्नका लागि देशीविदेशी शक्ति लागिपरेको आरोप लगाउनुभएको छ ।
विश्रामपुर गाउँसभाद्वारा पारित ऐन कानूनहरुको संगालोको सार्वजनिकीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको एकता नेपाली काँग्रेसलाई अपच भएको बताउनुभयो ।
विश्रामपुर गाउँपालिकालाई एक नमूना गाउँपालिकाका रुपमा विकास गर्नका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता पूर्वप्रधानमन्त्री दाहालले व्यतm गर्नुभयो । एक अर्को प्रसंगमा उहाँले निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि चाँडै शुरुआत हुने जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष अमिरीलाल पालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अच्युत मैनाली, प्रदेश सदस्य ज्वालाकुमारी साह, महमद समिर र सुन्दर विश्वकर्मा, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललगायतले आआफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
यसैबीच अध्यक्ष दाहालले कलैया उपमहानगरपालिका वडा नं २३ अन्तर्गतको मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको बाटालाई कालोपत्रे गर्नका लागि शिलान्यास गर्नुभएको छ । शहरी विकास मन्त्रालयको सहयोगमा सो सडक कालोपत्रे हुनेछ । सडकको नाम प्रचण्डपथ रहनेछ । करीब ९ किलोमिटरको सो सडक निर्माणका लागि रु ४८ करोड ९३ लाख ३८ हजार लाग्ने भएको छ । सडकको चौडाइ नाला दुवैतिर छाडी ३० फिट रहने जनाइएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू