०५ माघ २०८१

‘टीनएज’ टीमलाई मधेशी पत्रकार समाजद्वारा सम्मान

८ श्रावण २०७५, मंगलवार १२:०१ मा प्रकाशित

काठमाडौं,  ८ साउन । यही साउन २५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘टीनएज’ चलचित्रको टीमलाई मधेशी पत्रकार समाज नेपालले सम्मान गरेको छ ।

सोमबार मधेश मिडिया हाउसमा समाजले एक कार्यक्रमको आयोजना गरी टीनएजका सम्पूर्ण कलाकार, निर्देशक, निर्मातालगायतलाई दोसल्ला ओढाई सम्मान गरेको हो ।

समाजका केन्द्र अध्यक्षले पहाडदेखि मधेशसम्मका युवाको अवस्थाबारे टीनएजले कथावस्तु बनाएको भन्दै मधेशमा पनि यसले राम्रो सन्देश दिनसक्ने भन्दै टीनएज टीमलाई सम्मान गरिएको बताएका छन् ।

टीनएजका निर्देशक दिनेश पाख्रिनले विगतमा नेपाली चलचित्रहहरु मधेशमा नचल्नुको कारण मधेशको विषयवस्तु नसमेटिएको बताउँदै समग्र राष्ट्रको जनताले अपनत्व ग्रहण गर्ने खालको चलचित्र निर्माण गरिएको दाबी गरेका थिए ।

उनले हिमाल, पहाड, तराई कोही छैन पराई किताब र नारामा मात्र सीमित रहेको तर आफ्नै देश मधेशलाई विगतमा नेपाली चलचित्रले हेलाभावले प्रदर्शन गर्ने गरेको स्वीकार गरे । टीनएजका नायक मधेशी सपुत सरोज साह निराला रहेकोले मधेशमा मन पराउने आशासमेत व्यक्त गरेका छन् ।

उनले भने, ‘चलचित्रको विशालको सम्भावना बोकेको मधेशलाई नेपाली चलचित्र जगत् बुझ्न नसकेर नेपाली चलचित्रले आफ्नो बजार फष्ट्याउन नसकेको हो ।’

मधेशी पत्रकार समाज नेपालको प्रदेश नं. ३ का अध्यक्ष विजय यादवको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा अध्यक्ष यादवले चलचित्र टीनएजले मधेशलगायत समग्र नेपालमा सफल व्यापार गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । उनले चलचित्रले युवा पुस्तालाई मार्गदर्शन गराउन भूमिका खेलोस् भन्ने आशा व्यक्त गरेका थिए ।

यसैगरी, कार्यक्रममा अखिल नेपाल चलचित्रकर्मी प्रदेश २ का अध्यक्ष विजय यादव निर्विज, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रवीण चौधरी प्रतीक, युवा नेता सुवासचन्द्र साहलगायतले चलचित्रको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

चलचित्रका निर्माता हेलेन पाख्रिन र निर्मल लामा, मुख्य कलाकारहरु सरोज साह निराला, नरेश वीर सिंह, एन्जिला खड्गी, सविना राज उपाध्याय, लिगेश भट्टराई, प्रतिक्षा खड्का, अजय खड्का, सरोज शर्मा लगायतका रहेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter