बर्दिवास, ४ साउन (रासस) ः महोत्तरी जिल्लामा लागूऔषध दुव्र्यसनीको संख्या वर्षेनी बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ को तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले यो जानकारी दिएको हो । गत आव २०७४÷०७५ मा लागूऔषध दुव्र्यसनसम्बन्धी ४५ मुद्दा दर्ता गरिएका छन् । यसअघि आव २०७३÷०७४ र २०७२÷२०७३ मा क्रमशः २५ र १७ वटा घटना दर्ता भएका थिए ।
पछिल्लो गत आव २०७४÷०७५ मा दर्ता गरिएका मुद्दामध्ये छुट्टाछुट्टै केलाउँदा जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा सबैभन्दा बढी १४ घटना दर्ता भएका छन् । त्यसअघिका आव २०७३÷०७४ र २०७२÷०७३ मा पनि लागूऔषध दुव्र्यसनसम्बन्धी घटना पनि बर्दिवास नगर क्षेत्रमै अन्य ठाउँभन्दा बढी रहेका जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक कुवेरसिं कडायतले जानकारी दिनुभयो ।
जिल्लाको घटना अभिलेखअनुसार बर्दिवास नगर क्षेत्र अत्यन्त संवेदनशील मानिएको छ । लागूऔषध दुव्र्यसनी र कारोबारीले बर्दिवासलाई नै केन्द्र बनाएका पाइएको प्रहरी अधिकारीको भनाइ छ ।
दुव्र्यसनीले गाँजा र चरेश मकवानपुरतिरबाट र लागूऔषधका चक्की (गोटी), क्याप्सुल र सुई महोत्तरीको भारतीय सीमावर्ती कन्हमा र भिठ्ठामोरबाट लिने गरेका पाइएको प्रहरी अनुसन्धानले देखाएको छ ।
भारतको बजार भिठ्ठामोर र कन्हमाबाट बर्दिवास र जनकपुरक्षेत्रका दुव्र्यसनीले लागूऔषध लिएर नेपाल फर्कने गरेका पाइएको प्रउ कडायत बताउनुहुन्छ । लागूऔषधको प्रयोग र कारोबारमा बर्दिवासपछि यी नाकाको प्रयोग गर्नेमा जनकपुर भेगका युवा र किशोर पाइएको प्रहरीले जनाएको छ ।
लागूऔषध दुव्र्यसन र कारोबारमा १५ देखि ३० वर्ष उमेर समूहका युवा र किशोरको संख्या बढी देखिएको छ । गत आव २०७४÷०७५ मा पक्राउ परेका ४५ जनामध्ये ३५ जना १५ बर्षदेखि ३० बर्ष उमेर समूहका पाइएको प्रउ कडायतले बताउनुभयो । यस अवधिमा बर्दिवासबाट २९ किलो गाँजा, एकहजार ५२० नाइट्राभेट चक्की, डाइजेपाम ९०, स्पास्मो २९७ र ब्रफिनोर्फिन १० वटा बरामद गरेको प्रहरीले जनाएको छ ।
बर्दिवास नगर क्षेत्रमा दुव्र्यसनीको जमघट बढ्दै गएको तथ्यांक नै आएपछि इलाका प्रहरी कार्यालय, बर्दिवासले खासखास अखाडा चिन्हित गरी सघन चेकजाँच गर्दै आएको छ । दुव्र्यसनीले यसअघिका जमघट हुने अखडा फेर्दै जाने गरेका पाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायब उपरीक्षक नकुल पोखरेल बताउनुहुन्छ ।
बर्दिवास नगर क्षेत्रमा प्रहरीले थालेको दुव्र्यसनी खोज अभियानमा विद्यालयमा पढिरहेका किशोर उमेरका विद्यार्थी र कूलीन गनिने परिवारका समेत किशोर र युवा संलग्न पाइएको प्रहरी अनुसन्धानले देखाएको छ ।
आफ्ना नानीहरुको संगत, उनीहरु विद्यालय नियमित जाने गरे नगरेको सोधखोज र परिवारमा सामूहिक बसउठ बढाउनतिर अभिभावकले ध्यान दिन पर्ने प्रनाउ पोखरेलको सुझाव छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू