०५ माघ २०८१

गृहमन्त्री र बेलायती तथा कतारी राजदूत भेटवार्ता

१ श्रावण २०७५, मंगलवार १८:१९ मा प्रकाशित

काठमाडौँ, १ साउन (रासस) ः गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत रिचार्ड मोरिस र कतारका राजदूत युसुफ बिन मोहम्मदले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

गृहमन्त्रालयमा बेलायती राजदूत रिचार्ड मोरिससँग भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री थापाले बेलायती सेनामा कार्यरत नेपालीका केही समस्या रहेको भन्दै सो बारे चासो व्यक्त गर्नुभएको थियो ।

राजदूत मोरिसले नेपाल–बेलायत सम्बन्धको चर्चा गर्दै नेपालले तीव्रतर रुपमा विकास गरोस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभयो । उहाँले नेपालमा बेलायती लगानी भित्र्याउन आफूले सक्दो पहल गर्ने समेत बताउनुभयो ।

राजदूत मोरिसे विपद् व्यवस्थापन, सुरक्षा निकायको तालीम र उपकरणलगायतका क्षेत्रमा गृह मन्त्रालयसँग समन्वय गरेर काम गर्न आफूहरु तयार रहेको बताउनुभयो । भेटमा पछिल्लो समय गृहमन्त्रालयले शुरु गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमनका विषयमा समेत छलफल भएको थियो ।

गृहमन्त्री र कतारी राजदूत भेटवार्ता

यसैगरी गृहमन्त्री ‘बादल’सँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले पनि आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपाल–कतार द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग उहाँले सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गर्नुभयो ।

राजदूत मोहम्मदले यस वर्ष नेपाल र कतार कूटनीतिक सम्बन्ध भएको ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गर्नुभएको थियो ।

उहाँले सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्न गइरहेको सन्दर्भमा सुरक्षागार्डमा ठूलो संख्यामा नेपालीलाई लैजान कतार इच्छुक रहेको र त्यसका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न तयार रहेको बताउनुभयो । कतारमा हाल पाँच लाखभन्दा बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter