खोटाङ, २७ असार (रासस) ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका ब्लड क्यान्सर पीडित अनिल राईको उपचारमा समस्या भएको समाचार राष्ट्रिय समाचार समिति (रासस) मार्फत प्रकाशन भएपछि आर्थिक सहयोग जुट्न थालेको छ ।
आर्थिक अवस्था कमजोर भएका १९ वर्षीय अनिलको उपचारमा आर्थिक अभाव भएको समाचार गत जेठ १२ गते राससमार्फत विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएपछि देशविदेशमा रहनुभएका उनका आफन्त तथा शुभचिन्तकबाट उपचारका लागि सहयोग रकम जुट्न थालेको हो । अहिले काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार गराइरहेका अनिलको उपचारका लागि हङकङबाट मात्रै रु साढे चार लाखभन्दा बढी सहयोग रकम प्राप्त भएको छ ।
नुनथला घर भई हाल हङकङमा रहनुभएका धर्मराज राईको संयोजनमा संकलित रु चारलाख ५० हजार ३८१ सहयोग रकम बुधबार प्राप्त भएको हो । धर्मराजको नेतृत्वमा संकलन भएको रकम बुधबार नुनथला घर भई काठमाडौँमा बस्दै आउनुभएका गीतकार तथा कवि टीका चाम्लिङले अस्पतालमै पुगेर प्रदान गर्नुभयो । उपचार गराइरहेका अनिलमा देखिएको ब्लड क्यान्सर शुरुवाती चरणमा भएकाले उपचार सम्भव हुने स्वास्थ्यकर्मीले बताएका छन् ।
तीन महिना अघिदेखि क्यान्सर पीडित अनिलको उपचार गर्न परिवारको आर्थिक अवस्थाले नधान्ने भएपछि सबैमा मानवीय सहयोगका लागि हात फैलाउनु परेको उनका आफन्त भुवन राईले बताउनुभएको छ ।
क्यान्सर पीडित अनिलको जीवन बचाउका लागि अन्य देशमा पनि आर्थिक संकलन अभियान जारी रहेको छ । अनिल बचाउका लागि आफ्नै दाजु जीवन राईको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर आर्थिक सहयोगको अपिल गरिएको छ । आर्थिक सहयोगका लागि राष्ट्रिय बाणिज्य बैंकमा १४२००६७३२२१० नम्बरको खाता खोलिएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू