काठमाडौँ, १९ जेठ (रासस) ः नेपाल फोटो पत्रकार महासंघ (एनएफपिजे) ले पछिल्लो पटक फोटो पत्रकारहरूमाथि धम्की दिनुका साथै आक्रमण भइरहेको भन्दै सुरक्षाको माग गरेको छ ।
महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी नौबुँदे “चितवन घोषणापत्र–२०७५” जारी गर्दै फोटो पत्रकारमाथि सेल्फ सेन्सरसिप बढेको भन्दै फोटो पत्रकारको सुरक्षा, सम्मान र स्वतन्त्र रुपमा उपभोग गर्न पाउने वातावरण सिर्जना गर्न ध्यानाकर्षण समेत गराएको छ ।
सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष सागर श्रेष्ठले संविधानले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको, तर त्यसको पूर्णरुपमा कार्यान्वयन भएको छैन भन्नुभयो ।
राज्य र गैर–राज्य पक्षबाट फोटो पत्रकारमाथि प्रत्यक्ष वा अप्रत्यक्ष प्रहारका प्रयास भइरहेका भन्दै अध्यक्ष श्रेष्ठले त्यसप्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताउनुभयो ।
महासंघका महासचिव हरि रेग्मीले पत्रकारहरूको क्षमता र दक्षता अभिवृद्धि गर्न विभिन्न संघसंस्थासँग सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरले नेपालका हरेक परिवर्तनका आन्दोलनमा फोटो पत्रकारहरूले खेलेको भूमिकाको चर्चा गर्नुभयो ।
देशभरका विभिन्न संचार माध्यममा कार्यरत फोटो पत्रकारलाई नेपाल फोटो पत्रकार महासंघमा गोलबद्ध गराउने, महासंघमा आबद्ध सदस्यहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम सञ्चालन गर्ने र उक्त कार्यका लागि विभिन्न संघ संस्थासँग सहकार्य गर्ने र आम फोटो पत्रकारहरूको हकहितका लागि आवाज बुलन्द गर्ने लगायतका विषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू