दौलतपुर, मोरङ, ७ असार (रासस) ः राजवंशी समुदायले मनाउने लोथापोथा पर्व आजदेखि शुरु भएको छ ।
राजवंशी समाज विकास समितिद्वारा आज मोरङको रंगेली नगरपालिका–२ दौलतपुरमा पूजाको आयोजना गरेर सो पर्व शुरु गरिएको हो ।
तराईमा बसोबास गर्ने आदिवासी जनजाति राजवंशी समुदायमा मनाइने यो पर्व ‘लोथापोथा गौर’ भन्नाले पर्वको शुरुवात हो भने वैशाख महिनाको शुरुमा मनाइने ‘सिरुवा और’ भन्ने पर्वको समाप्त भन्ने बुझिन्छ ।
राजवंशी समुदायले असार महिनाको प्रत्येक बिहीबार यो पर्व मनाउने गर्छन् । यस पर्वमा राजवंशी भाषाको ‘विर्ना’ घाँसको पूजा गरिन्छ ।
यस पर्वमा गरिने पूजाले समुदायमा सुख शान्ति र सुस्वास्थ्यको कामना गरी धनसम्पत्तिको अहमता त्याग्नु र आफ्नो शरीरमा ध्यान दिनुपर्ने पर्वको मान्यता रहेको पूर्व राज्यमन्त्री एवं राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले बताउनुभयो ।
यो पूजाका लागि यस मौसममा उत्पादन हुने आँप, लिची, अठिया केरा, काँक्रा र डोहा (बडहर) तथा उसिना चामल, दूध दही आदि सामग्रीले विर्नाको पूजा गरिन्छ ।
पूजापश्चात् सुखली दुखली (धनी र गरीब) दिदी बहिनीको कथा वाचनपश्चात् विर्नालाई सबै महिलाले माथि उठाउने र तल राख्ने प्रकिया पुरा गरी पूजा समाप्त गरिन्छ ।
यस कार्यमा उक्त समुदायका पुरुषको सहभागिता पनि हुने गरेको छ । पूजाको शुभारम्भको अवसरमा प्रदेश सदस्य ज्ञानेश्वर राजवंशीले समुदायको भाषा संस्कृतिबाट मुलुकको समृद्धि झल्किने बताउँदै युवा पुस्तालाई आ–आफ्नो संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
समितिका केन्द्रीय अध्यक्ष भीम राजवंशीले भाषा, वेशभूषा र संस्कृतिमा धनी रहेको राजवंशी समुदायले कसैको प्रलोभनमा नपरी आधुनिकतासँगसँगै संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । (तस्वीर उपलब्ध छ)
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू