०९ माघ २०८१

आठ हजार हेक्टरमा सिँचाइ सुविधा अभाव

२४ जेष्ठ २०७५, बिहीबार १५:१८ मा प्रकाशित

जाजरकोट, २४ जेठ (रासस) ः यहाँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।

जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ । सिँचाइ सुविधा नभएका कारण यहाँका किसान आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्दै आएका हुन् ।

भिरालो जमीनमा ओसिलो पन नहुँदा सबै लगाएको अन्नबाली सुक्ने भन्दै हिउँदे याममा आफ्नो खेतबारी बाँझै रहने गरेको नलगाड नगरपालिका– ८ का हरिबहादुर खत्रीले बताउनुभयो ।

केहीले व्यक्तिगत रुपमा पाइप खरिद गरी सिँचाइ गरेपनि अधिकांश किसानका खेतबारी सिँचाइविहीन अवस्थामा रहेको भेरी नगरपालिका–१ का कालीबहादुर पुनले बताउनुभयो ।

“अर्काको पाइप ल्याएर सिँचाइ गर्दा रु एक हजार तिर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो । आकाशे पानीको भरमा खेती गर्दा बीउ नै नउम्रिने र हिउँदे याममा जमीन खाली नै राख्ने गरेको पुनको भनाइ छ ।

सिँचाइ सुविधा भएका ठाउँमा किसानले बर्खेबाली र हिउँदेबालीका साथै बेमौसमी तरकारीबाली समेत लगाउने गरेको कुशेगाउँपालिका–५ का अमिक थापाले बताउनुभयो । जमीन पर्याप्त भए पनि सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यता छ ।

“आकाशे पानीको भरमा लगाउँदा वर्षेनी बीउ नै नउठ्ने भएपछि े हिउँदे याममा जमीन खाली राख्ने गरेको छु,” उहाँले भन्नुभयो ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा १६ हजार ६९८ हेक्टर जमीनमा खेती गरिन्छ । हिउँदयाममा दुई हजार ९४९ हेक्टर जमीनमा सिँचाइ सुविधा पुग्छ । वर्षा याममा चार हजार ९९० हेक्टरमा मात्र सिँचाइ सुविधा पुग्ने गर्छ । दश हजार ४३२ हेक्टर जमीनमा गहुँखेती गरिन्छ भने ७०० हेक्टर जमीनमा जौँखेती गरिँदै आएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter