०२ माघ २०८१

मुख्यमन्त्री राहत र प्राकृतिक प्रकोप राहत कोष खडा गरिने

२१ जेष्ठ २०७५, सोमबार २१:१५ मा प्रकाशित

धनगढी, २१ जेठ (रासस)ः प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभाका समितिमा दफावार छलफल पूरा भई तयार पारिएका विभिन्न विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ ।

बैठकमा प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिका ज्येष्ठ सदस्य कृष्णराज सुवेदीले सम्बन्धित समितिमा दफावार छलफल भएको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सम्बन्धी प्रतिवेदन र स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी प्रदेशसभा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल भई तयार पारिएको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सम्बन्धी प्रतिवेदन समितिका ज्येष्ठ सदस्य देवराज पाठकले बैठकमा प्रस्तुत गर्नुभयो ।

बैठकका प्रारम्भमा यसअघि भएका बैठकको विशेष समयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशमा हालैको प्राकृतिक प्रकोप र सडक दुर्घटनाका कारण निधन भएका विभिन्न व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन मुख्यमन्त्री राहत कोष र प्राकृतिक प्रकोप राहत कोषको कार्यविधि बनाउन लागिएको बताउनुभयो ।

मन्त्री सोडारीका अनुसार हालैको प्राकृतिक प्रकोपबाट बझाङमा आठ कैलालीमा एक तथा सडक दुर्घटनावाट डोटीमा पाँच, अर्को सडक दुर्घटनामा थप एक जनाको मृत्यु भएको थियो । प्रदेशसभाको अर्को बैठक मङ्गलबार अपराह्न ३ बजे बस्नेछ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter