बेनी, म्याग्दी, १७ जेठ (रासस) ः मंगला गाउँपालिका, बेनी नगरपालिका र उत्तरी रघुगंगा गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल टोड्के पर्यटकको पर्खाइमा छ ।
समुद्री सतहदेखि झण्डै दुई हजार ४०० मिटरको उचाइमा रहेको टोड्केबाट उत्तरतर्फ धौलागिरि, अन्नपूर्ण, मानापाथि, नीलगिरिलगायत मनोरम हिमशृंखलाको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट दर्जनौँ गाउँको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । टोड्केमा आशा गरेअनुरुप आन्तरिक तथा बाह्य पर्यटक भने पुग्नसकेका छैनन् ।
कालिज, कोइली, तित्रोलगायत विभिन्न चराचुरुंगीको चिरबिर चिरबिर आवाज, पहाडको टुप्पोमा मनमोहक बस्ती, बस्ती नजिकै आलुबारी, उत्तरतिर स्वर्गद्वारी आश्रम र शिवमन्दिर, पंक्तिबद्ध हिमाल र मनमोहक ग्रामीण भेगको दृश्यावलोकन तथा चैत वैशाखतिर राताम्य भएर फूलेको लालीगुराँस टोड्केबाट हेर्न सकिन्छ । यहाँ हेलिप्याडसमेत रहेको छ ।
मंगलाको कुहूँ, पूर्णगाउँ र रघुगंगाको झीँ गाउँबाट सडक पुगेपछि टोड्के रिङरोडसँग जोडिएको छ । टोड्केमा अझ धेरै पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको गैरसरकारी संस्था मिलन म्याग्दीका उपाध्यक्ष शिव बानियाँ बताउनुहुन्छ ।
माघदेखि वैशाखसम्म लालीगुराँसले राताम्मे हुने टोड्केमा विभिन्न समयमा बनभोज खान यहाँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् । टोड्केको प्रचारप्रसार र विकास गरी पर्यटक भित्र्याउनका लागि बेलाबेलामा गुराँस महोत्सव तथा टोड्के महोत्सवको आयोजना गरिए पनि त्यो प्रभावकारी हुन नसकेको स्थानीयवासी मीनबहादुर थजाली बताउनुहुन्छ ।
मूला र आलु खेतीका लागि जिल्लामै प्रसिद्ध टोड्के आग्र्यानिक उत्पादनको नमूना क्षेत्र हो । यहाँ उत्पादन हुने मूलाले जिल्लामा ख्याति कमाएको छ । टोड्के क्षेत्रमा भौतिक पूर्वाधार निर्माणले गति लिन थालेको छ । टोड्के क्षेत्र अवलोकन तथा भ्रमणमा जाने आन्तरिक एवं बाह्य पर्यटक र मालिका मन्दिर दर्शन गर्न भक्तजनलाई लक्ष्य गरी भौतिक पूर्वाधारको निर्माण तीव्र पारिएको छ । टोड्केमा गत वर्ष पर्यटन बोर्डबाट प्राप्त रु ३४ लाखको लागतमा पदमार्ग र प्रतीक्षालय निर्माण गरिएको छ ।
यहाँ पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना (वास) दोस्रो चरणको आर्थिक सहयोगमा शौचालय निर्माण गरिएको छ । कुहूँ पूर्णगाउँदेखि सहज पदमार्ग नै टोड्के क्षेत्रको विकासका लागि उपयुक्त देखिन्छ । सरोकारवालाले पदमार्ग विस्तार र पूर्वाधार निर्माण गरी पर्याप्त प्रचारप्रसार गर्नसके टोड्के म्याग्दीको पुनहिल र घोडेपानी जत्तिकै चर्चित पर्यटकीयस्थल बन्नसक्ने स्थानीयवासी बताउँछन् ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू