काठमाडौँ, १४ जेठ (रासस) ः नेपाली सेनाको जंगी अड्डामा शुरु भएको दुईदिने ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ आज सम्पन्न भएको छ ।
बैठकमा समसामयिक वस्तुस्थितिको पुनरवलोकन तथा मूल्यांकनसमेत भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बैठकका क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्नसक्ने चुनौती एवं सुझावका सम्बन्धमा प्रस्तुतीकरण दिनुभएको थियो ।
बैठक समापनका क्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले विद्यमान परिस्थितिको मूल्यांकन गरी आउन सक्ने जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेशनल, तालीम तथा बन्दोबस्ती पक्षमा हरहमेसा तयारी रहन तथा ‘अपरेशनल रेडिनेस’ तथा सांगठनिक सुदृढीकरणका क्षेत्रमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा बलाधिकृतरथी पूर्णचन्द्र थापाले बैठकमा उठेका समसामयिक विषयमा आफ्नो मन्तव्य राख्नुभएको निर्देशनालयले जनाएको छ । समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाका माध्यमबाट आउने रचनात्मक सुझावले नीतिनिर्माणमा ठोस योगदान पु¥याउन थप सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू